काठमाडौँ । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ मा महिलातर्फको रिक्त हुने एक सिटका लागि तीनजनाको उम्मेदवारी परेको छ । यस्तै, सो प्रदेशमा अपांगता भएका वा अल्पसंख्यकतर्फ दुईजनाको उम्मेदवारी परेको छ भने अन्य समूहतर्फ तीनजनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
प्रदेश १ मा रिक्त हुने तीन पदमा सबै गरी आठजनाको उम्मेद्वारी परेको हो । जसमा तीनै समूहबाट गरी एक-एकजना अर्थात् कुल तीनजना निर्वाचित हुनेछन् ।
यसैगरी, प्रदेश २ मा महिला समूहतर्फ तीनजना तथा अन्यतर्फ दुईजनाको गरी पाँचजनाको उम्मेद्वारी परेको छ । प्रदेश २ मा दुवै समूहबाट गरी दुईजना निर्वाचित हुनेछन् ।
कुन प्रदेशमा कति मतदाता ?
बाग्मती प्रदेशमा महिलातर्फ तीन र अन्यतर्फ समेत ३ गरी ६ जनाको उम्मेदवारी दर्ता भएको छ । बाग्मतीमा दुई पद रिक्त हुँदै छ ।
यसैगरी निर्वाचन आयोगका अनुसार प्रदेश १ मा ९२ जना प्रदेश सभा सदस्य तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख गरेर २७२ जना मतदाता छन् । सो प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ४ हजार ४ सय १६ तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुखको मतभार ४ हजार ८ सय ९६ छ । यी दुवैतर्फ गरेर प्रदेश १ मा कुल मतभार ९ हजार ३ सय १२ हुन्छ ।
यसैगरी, प्रदेश २ मा जम्मा ९ हजार ८ सय १६ मतभार छ । प्रदेश २ मा प्रदेश सभा सदस्य १ सय ४ जना छन् भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ६८ जना छन् । प्रदेशसभाका सदस्यको कुल मतभार ४ हजार ९ सय ९२ हुन्छ भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ६८ जनाको मतभार ४ हजार ८ सय २४ हुन्छ ।
यस्तै, बाग्मतीमा प्रदेशमा प्रदेश सभा सदस्य १ सय ९ जना छन्, । उनीहरूको मतभार ५ हजार २ सय ३२ हुन्छ । यसैगरी, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ३७ जना छन् । उनीहरूको मतभार ४ हजार २ सय ६६ हुन्छ । दुवैतर्फका गरी बाग्मती प्रदेशमा कुल मतभार ९ हजार ४ सय ९८ रहेको छ ।
यसैगरी, गण्डकीमा प्रदेशमा ५ हजार ८ सय ९२ कुल मतभार छ । जसमा प्रदेश सभा सदस्य ५९ जना छन् भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख १ सय ७० जना छन् ।