दमौली । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण ल्याउन नसकिएको बताउनुभएको छ ।
खैरेनीटारमा शनिबार उहाँले पार्टीमा रुपान्तरण ल्याउने अभियानमा लागे पनि अन्तिममा आएर उक्त प्रयास पूरा हुन नसकेको बताउनुभयो ।
‘पार्टीमा नयाँ रुपान्तरण ल्याउनुपर्छ भनेर धेरै प्रयास गर्यौँ तर केही साथीहरूका व्यक्तिगत आकाङ्क्षाका कारण पूरा हुन सकेन’, पौडेलले भने।
पौडेलले १४ औँ महाधिवेशनले आफूले उठाएका रुपान्तरणको प्रश्नको उत्तर दिनुपर्नेमा जोडमा दिनुभयो ।
‘सबै साथीहरू उठ्छौँ भनेपछि म प्रतिस्पर्धाबाट अलग रहेँ, उहाँहरूकै अनुरोधमा म प्रतिस्पर्धामा गइनँ । महाधिवेशनले मैले उठाएको प्रश्नको उत्तर आएको छैन,’ उहाँले भन्नुभयो।
पौडेलले पार्टीमा जनताको आकर्षण बढाउन लाग्नुपर्नेमा सुझाव दिनुभयो ।
कांग्रेस जनताको बीचमा अपमानित भएको गुनासो गर्दै उनले पार्टीलाई सम्मानित बनाउनु आजको आवश्यकता रहेको तर्क गर्नुभएको थियो ।
देशको संसद्ले गति लिन नसकेको बताउँदै उहाँले जनताको जल्दाबल्दा समस्यामा सदनमा छलफल हुन नसकेको धारणा राख्नुभयो ।
सदनलाई व्यवस्थित र प्रभावकारी बनाउन पहल गर्नुपर्नेमा पौडेलले जोड दिनुभयो । उहाँले मिलेनियम च्यालेन्ज कर्पोरेसन्स एमसीसी पारित गर्नुपर्ने बताउनुभयो । उहाँले एमसीसी राष्ट्रघाती भएको भन्दै भ्रममा पार्न खोजिएको जिकिर गर्नुभयो ।