काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आगामी तीन महिनाभित्र गौतमबुद्ध विमानस्थल उद्घाटन गर्ने दाबी गर्नुभएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको २३ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले यस्तो दाबी गर्नुभएको हो ।
भैरहवा रुट दिन भारतले आनाकानी गरेको भन्दै यसलाई छिट्टै टुङ्ग्याइने उहाँले बताउनुभयो । जनवरी २०२२ भित्र क्यालिब्रेसन उडान गर्ने तयारी रहेको समेत प्राधिकरणले जानकारी गराएको छ । मन्त्री आलेले तोकिएको समयमा काम पूरा गर्न निर्देशन दिनुभएको छ ।
उहाँले युरोपेली युनियनको कालोसूचीबाट हट्ने गरी काम गर्न समेत निर्देशन दिनुभयो । उहाँले नेपाल वायुसेवा निगमलाई जहाज खरिदको प्रक्रिया अगाडि बढाउन आफूले निर्देशन दिएको बताउनुभयो ।
प्राधिकरणको वार्षिकोत्सवमा केही हाकिम नआएको भन्दै उनीहरुमाथि निगरानी गर्ने चेतावनी मन्त्री आलेले दिनुभयो । उहाँले भन्नुभयो ‘निगरानी छ कतिपयलाई, यो धन्दा अरुसँग गर्नुहोला, प्रेम आलेसँग होइन ।’