काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २७१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
९ हजार १ सय ५७ जनाको पीसीआर परीक्षण गर्दा २५१ जना र १ हजार ७ सय २९ जनाको एन्टीजेन परीक्षण गर्दा २० जना गरी २७१ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने २२५ जना संक्रमणमुक्त भएका छन् ।
बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार ६७३ पुगेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५८६ पुगेको छ भने ८ लाख ११ हजार ५ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९३१ जना रहेका छन् । जसमध्ये ४ हजार ६९४ जना होम आइसोलेसनमा रहेका छन् भने २३७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७८ जना आईसीयू र २३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
त्यस्तै १० वर्षमुनिका ७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २० जना कोरोना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।