यतिबेला नेकपा माओवादी केन्द्रको ८ औँ महाधिवेशन प्रज्ञा भवनको कमलादीमा चलिरहेको छ । माओवादी २०६२/६३ को आन्दोलनबाट भूमिगतकालीन सशस्त्र युद्ध छोडेर शान्ति प्रक्रिया आएको हो । शान्ति प्रक्रियामा आउँदा माओवादीले एकात्मक शासन व्यवस्था अन्त्य गरेर राज्यको शासकीय स्वरुप विकेन्द्रित गर्ने नीति लिएको थियो । समयले त्यही नीतिलाई संघीयताका रुपमा शिलान्यास गर्यो । तर शान्ति प्रक्रियामा आएको १५ वर्ष नाघिसक्दा पनि चेन अफ कमान्डको पुरानो धङधङी माओवादीले बिर्सिनै सकेन, जसले त्यस प्रथाविरुद्ध बोले, पार्टीको बहिष्करणमा बोले, पार्टीबाट निकालिए ।
त्यसैले अहिले प्रचण्डले नेतृत्व गरेको पार्टी ३४ वर्ष र माओवादी नामकै पार्टी २६ वर्षको भइसक्दा पनि प्रचण्डको विकल्प केबल प्रचण्ड देखिएका छन् । यही भावना कहिले नारा बनेर त कहिले पोष्टर बनेर सतहमा आउँछन् ।
पछिल्लो उदाहरण माओवादी केन्द्रको आठौं महाधिवेशनमा देखिएको दृश्य, कार्यकर्ताहरुको भक्तिभाव र नेताहरुको भक्तिगान हो ।
स्थायी कमिटी सदस्य मातृका यादवको अभिव्यक्ति त्यसैको एउटा अंशमात्रै हो । उद्घाटन सत्रलाई संबोधन गर्दै नेता यादवले प्रचण्डलाई अहिले पार्टीमा विश्राम लिने छुट नभएको बताए । ‘अध्यक्षज्यूलाई पत्रकारले सोधेपछि, उहाँ पनि भन्नुहुन्छ मलाई त छोड्न मन थियो, आत्मकथा लेख्न मन थियो’ प्रचण्डले क्रान्तिलाई बीचैमा छाडेर हिँड्न नमिल्ने टिप्पणी गर्दै नेता यादवले भने, ‘यसो भनेर धर पाइन्छ ? पाइँदैन । क्रान्तिलाई बीच बाटोमा छाडेर कोही नेता गएको छ र ? अवसरवादी मात्र जान्छ ।’
महाधिवेशनको मौसम छ, यादवले सम्भवतः प्रचण्डलाई नै खुसी पार्न यसरी बोलेका होलान्, तर जसरी बोले पनि उनको भाषण अस्वाभाविक सुनिन्थ्यो । प्रचण्डप्रति अतिरिक्त अनुराग देखिन्थ्यो । ‘यो त पुँजीवादी शैली हो, स्थापित लिडरलाई पाखा लगाइदिने, केही नजान्नेलाई नेता बनाइदिने’ नेता यादवको तर्क थियो ।
प्रचण्डका बिरुद्धमा बोल्ने र यदि उनले गलत गरेका छन् भने पनि खरो प्रश्न गर्ने नेता माओवादी केन्द्रमा कोही छैनन् । जति थिए ती अर्कै पार्टीको नेताका रुपमा अस्तित्वमा छन् । आइतबार माओवादीको आठौं महाधिवेशन उद्घाटन हुँदै गर्दा अधिकांश पूर्वसहकर्मीहरु नै माओवादीको मञ्चमा वक्ताका रुपमा उपस्थित थिए ।
उनी आबद्ध पार्टीमा प्रचण्ड ३४ वर्षदेखि नेतृत्वमा छन् । भूमिगतकालीन नेकपा मसालको महामन्त्री रहेका प्रचण्डले ०४७ सालको राजनीतिक परिवर्तनपछि पार्टीलाई संयुक्त जनमोर्चाको नाममा अघि बढाए । जनमोर्चा ०४८ को चुनावमार्फत् संसदीय राजनीतिमा पनि जोडियो । तर ०४९ सालमा चितवनमा भएको एकताको महाधिवेशनले मुलुकमा सशस्त्र संघर्ष गर्ने प्रस्ताव पारित गरेपछि प्रचण्ड र उनको समूह संसदलाई ‘खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो’ का रुपमा व्याख्या गर्दै फेरि भूमिगतकालीन आन्दोलनमा गयो ।
भन्नलाई एकताको महाधिवेशन भनिए पनि त्यसबेला एकता केन्द्र विभाजित भएको थियो । गाउँले शहर घेर्ने जनयुद्ध र जनआन्दोलनका विषयमा मतभेद रह्यो । ०५१ सालमा माओवादीले चितवन माडीको शितलपुरबाट पारित गरेको कार्यदिशा आत्मसाथ गरेर जनयुद्ध घोषणा गर्यो । जनयुद्धसँग विमति राख्ने अर्को समूह एकता केन्द्र मशालकै रुपमा चल्यो ।
एकताको नाम दिइए पनि विचारका आधारमा पार्टीहरु विभाजित भएको यही महाधिवेशनबाट पुष्पकमल दाहालले आफ्नो नाम ‘प्रचण्ड’ राखे । त्यसअघि उनलाई भूमिगतकालीन कमरेडहरु ‘निर्माण’ का रुपमा चिन्दथे ।
उनै कमरेड निर्माणले एकताको महाधिवेशनबाट पार्टी भत्काएपछि ०५१ सालमा नयाँ पार्टीको जन्म भयो, नेकपा माओवादी । त्यस पार्टीका अध्यक्ष पनि प्रचण्ड नै भए । प्रचण्डकै नेतृत्वमा माओवादीले १० वर्ष सशस्त्र संघर्ष गर्यो ।
युद्धकालमै पनि माओवादी पार्टीभित्र विभिन्न खाले उतारचढाव आए । शान्ति प्रक्रियामा आएको दुई वर्षपछि प्रचण्डले नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्रसँग पार्टी एकता गरे, एकता केन्द्र त्यही नै थियो, जुन गाउँले शहर घेर्ने सशस्त्र संघर्षमा जान तयार नभएपछि प्रचण्डहरुमात्रै युद्धमा गएका थिए ।
शान्ति प्रक्रियापछि प्रचण्डपछिको बरियतामा रहेका मोहन वैद्य र बाबुराम भट्टराईका बीचमा विचारमा कुरा त मिल्दैनथ्यो तर कार्यगत एकता भने हुन्थ्यो । वैद्य र भट्टराईहरुको डरका कारण प्रचण्डले एकता केन्द्रसँग हतार–हतार एकता गरेर प्रचण्डपथ स्थगन गरे, पार्टीको संघर्षको स्वरुपबारेको अन्यौल कायम राखे । त्यसले प्रचण्डलाई त बलियो बनायो तर पार्टीको सिद्धान्त र व्यवहार फरक हुँदा कार्यकर्तामा भने सधैँ अन्यौल देखियो ।
शान्ति प्रक्रियामा आइसकेपछि पनि विद्रोह कि चुनाव भनेर दुइटा कुरा गरियो, त्यसले कन्फ्युजन पैदा भयो । नेतामै कन्फ्युजन, कार्यकर्तामै कन्युजन भएपछि मानिस संसदमा छ तर दिमागमा विद्रोह हुने अवस्था बन्यो । लाष्ट सिटमा बस्नुपर्ने अनि अर्कै सोच्ने भयो । यसले पनि पार्टी क्षयीकरण भयो ।
प्रचण्डले आफ्नो पार्टीले पारित गरेका विचार र सिद्धान्तलाई एकातिर राखे, संसदीय राजनीतिका जोडघटाउ, प्रधानमन्त्री बनाउने र सरकार भत्काउने खेलोमेलो अर्कातिर गर्न थाले ।
संसदमा आफ्नोमात्रै बहुमत नपुग्दा, कहिले एमाले, कहिले कांग्रेस, कहिले मधेसवादी र कहिलेकाहीँ त राजावादीहरुसँग पनि उनी हात मिलाउन पुगे ।
तर जनता र जनजीविकाका मुद्दाबाट भने प्रचण्ड कहिल्यै अघि बढेनन् । खाली आफ्नै स्वार्थमा मात्र रुमलिन पुगे । उनको संगत बिचौलिया र व्यापारीहरुसँग बढ्दै गयो । पार्टीका सर्वहारा कार्यकर्ताहरुका लागि प्रचण्ड आकाशका फलजस्तामात्रै भए । उनी कार्यकर्ताका निमित्त दुर्लभजस्तै लाग्छन् । प्रचण्डपथलाई त्यसबेला नै स्थगन गरेको माओवादीले पछि २१ औं शताब्दीको जनवादलाई आफ्नो राजनीतिक कार्यक्रममा रुपमा अघि सार्यो ।
२०७५ जेठ ३ मा एमालेसँग पार्टी एकता गर्दा प्रचण्डले २१ औं शताब्दीको जनवाद पनि स्थगन गरे । माओवाद पनि स्थगन गरे ।
एमालेसँग सुरुमा चुनावी तालमेल र त्यसपछि पार्टी एकता गर्ने भनेर प्रचण्डले प्रस्ताव राखेपछि नेता गोपाल किरातीले त्यतिखेरै सोधेका थिए– पहिचानको मुद्दा र माओवादका बारेमा के हुन्छ ? प्रचण्डले भने त्यसबारेमा छलफल गर्न सकिने जवाफ दिए । पहिचानकै मुद्दालाई मूल विषय बनाएको माओवादी अध्यक्ष प्रचण्डले पहिचानबारे नै छलफल गर्नमात्रै सकिने बताएपछि किराती, आहुतीजस्ता नेताहरुले प्रचण्डलाई छोडे ।
यसबेला प्रचण्ड विभाजनहरुको चोट सहेर पार्टी सानो भएको र सानो पार्टीको अध्यक्ष भन्दा ठूलै पार्टीको अध्यक्ष बन्छु भन्ने उद्देश्यसहित एमालेसँग पार्टी एकतामा जाने निधोमा पुगेका हुन् ।
प्रचण्डले राजनीतिमा सबैभन्दा पहिले आफूलाई हेर्छन् र त्यसपछि बल्ल अरुलाई भूमिका दिने गरेका छन् । बलियो पार्टीको बलियो अध्यक्ष बन्ने ध्याउन्नमा प्रचण्डले आफ्नो सिद्धान्त भुले, विचार भुले, वाद भुले, कम्युनिष्ट आचरण भुले ।
जसरी भए पनि राजनीतिक खिचातानीको केन्द्रमा आफैं हुनुपर्छ भन्ने कुरा भने प्रचण्डले कहिल्यै भुलेनन् ।
अहिले आएर माओवादी पार्टीको नाम नै फेर्ने प्रस्ताव आएको बताइन्छ । हाल उक्त प्रस्ताव पार्टीको केन्द्रीय कमिटीमा पुगेको छ र यो विचाराधीन छ ।
प्रचण्डलाई अहिले आफ्नै अस्तित्व जोगाउन सकस भएकाले पनि कहिले एमालेसँग त कहिले कांग्रेससँग मिल्ने गरेको बताउन थालेका छन् । प्रचण्ड अहिले आफ्नोमात्रै अस्तित्व रक्षा गर्ने अभियानमा रहेको माओवादी केन्द्रका एक नेताले बताए । आगामी चुनावमा चितवनबाट कसरी जित्ने भन्ने ध्याउन्नमा छन् । माओवादी केन्द्रका एक उच्च नेताका अनुसार ‘त्यसबाहेक उहाँलाई न माओवादीको चिन्ता छ, न पार्टीका अरु कमरेडहरुको ।’
त्यसो त गठबन्धन विना चितवनबाट चुनाव जित्न प्रचण्डलाई सहज नहुने विश्लेषण कतिपयले गर्ने गर्दछन् । प्रचण्ड चुनावी मैदानमा एक्लै उभिन नसक्नुको कारण पहिल्याउँदै जाने हो भने सबैभन्दा धेरै दोषी उनी नै भेटिन्छन् । खिइँदै गएको यही पार्टीमा प्रचण्डले सबैभन्दा पहिले आफ्नै र त्यसपछि माओवादी केन्द्रको अस्तित्व जोगाउनुपर्ने भएकाले उनी आफ्नै अस्तित्व रक्षाको छटपटीमा छन् । त्यसैले माओवादीको आगामी राजनीतिक यात्रा सहज हुने देखिँदैन । त्यसैले प्रचण्डको अब राजनीतिक भविष्य अन्यौल हुने देखिन्छ । देशैभर माओवादीका वरिष्ठ नेता तथा हजारौँ कार्यकर्ता एमालेमा दैनिक रुपमा प्रवेश गरिरहेका छन् । अतः माओवादी पार्टी अब नेपाल प्रजा परिषद्मा सीमित नहोला भन्न सकिँदैन ।

























