खोटाङ । नेकपा एमालेका प्रमुख सचेतक एवं पोलिटव्यूरो सदस्य विशाल भट्टराईले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले नरहेको बताउनुभएको छ । नेकपा एमाले खोटाङको अधिवेशनको सन्दर्भमा आइतबार दिक्तेलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रमुख सचेतक एवं पोलिटव्यूरो सदस्य भट्टराईले एमसीसीको अनुचित पक्षलाई एमालेले सहर्ष स्वीकार गर्न नसक्ने बताउनुभयो ।
भट्टराईले नेपाली जनताको आत्मनिर्णयको अधिकारलाई सम्मान गर्ने खालका बुँदाहरू राखिएका कुनै पनि सम्झौताका लागि एमाले तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले सम्मानमा आधारित एमसीसी भने पास गर्न सकिने बताउनुभएको छ । ‘यसका केही प्रावधान नेपाली जनताको आत्मनिर्णयको अधिकार, नेपालको सार्वभौमसत्ता र नेपालको भौगोलिक अखण्डतामा केही आँच आउने प्रकारका केही अस्पष्टताहरू छन् । यद्यपि हामीले अनुदान नलिने भनेको होइन, हामीलाई पुग्यो पनि भनेको होइन । हामी अनुदान लिने पक्षमा छौं ।’
प्रमुख सचेतक भट्टराईले एमसीसीलाई अनुमोदन गर्ने नाममा एमालेलाई एमसीसीको हरियो घाँस देखाएर सरकारमा आउनका लागि प्रस्ताव आइरहेको उल्लेख गर्नुभयो । ‘एमालेलाई एमसीसीको हरियो घाँस देखाएर त्यसलाई अनुमोदन गर्ने नाममा अव फेरी सरकारमा आइदिन पर्यो, हामीलाई सघाउनुपर्यो भन्ने प्रस्ताव नआएको होइन,’ उहाँले भन्नुभयो, ‘तर एमाले एमसीसी पास गर्ने शर्तमा अहिले कुनै गठबन्धनमा जाने, कुनै सरकारमा जाने वा अर्को गठबन्धन तयार गर्ने कुनै मनसायमा नरहेको कुरा स्पष्ट पार्न चाहन्छु । यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले विल्कुलै छैन ।’
प्रमुख सचेतक एवं पोलिटव्यूरो सदस्य भट्टराईले सभामुखले एमालेलाई विभाजन गर्नका लागि मतियारको भूमिका खेलेको आरोप लगाउनुभएको छ ।
यस्तै, एमालेका केन्द्रीय सदस्य उषाकला राईले एमालेको नेतृत्वमा मात्र देशमा समृद्धिको सपना पुरा हुने बताउनुभएको छ । केन्द्रीय सदस्य राईले विदेशी शक्तिसँग आँखामा आँखा जुधाएर सामना गर्न सक्ने नेता ओली मात्र भएको उल्लेख गर्नुभयो । उहाँले माधव नेपाल दक्षिणपन्थी भासमा परेको टिप्पणी गर्नुभयो ।