सुनसरी । सुनसरीको इटहरीस्थित तालतलैया विकास तथा संरक्षण समितिको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा नेकपा एमाले पक्षको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेस र नेकपा एमाले आआफ्नो प्यानल बनाएर निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । अध्यक्षमा एमाले तर्फबाट लक्ष्मी प्रसाद खनालले २ मतले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजु बस्नेतलाई पराजित गरेका हुन् । खनालले ४७ मत पाए भने बस्नेतले ४५ मत पाएका थिए ।
त्यस्तै, उपाध्यक्षमा खनाल प्यानलका कमलकुमार राई निर्वाचित भएका छन् । उनले बस्नेत प्यानलका घनश्याम दाहाललाई १६ मतान्तरले पराजित गरेका हुन् । राईले ५१ मत पाए भने दाहालले ३५ मत पाए । महासचिवमा ५२ मत ल्याउँदै खनाल प्यानलका कुमार सुन्दास चयन भए । बस्नेत प्यानलका रवि ओझाले ३९ मत ल्याए ।
सचिव पदमा पनि खनाल प्यानलका कृष्णप्रसाद दंगाल निर्वाचित भएका छन् । उनले बस्नेत प्यानलका उमा आचार्यलाई ७ मतान्तरले पराजित गरेका हुन् । दंगालले ४८ मत ल्याए भने आचार्यले ४१ मत ल्याएका थिए ।
त्यस्तै, खुल्ला सदस्यमा पनि खनाल प्यानल नै विजयी भएको छ । सदस्यमा खेमराज पोख्रेल, बाल कुमार राई, निरञ्जन गिरी, देवराज मादेन, विनोद कुमार कार्की, काली बहादुर लिम्बु, चन्द्र बहादुर कटुवाल निर्वाचित भएका छन् ।
यता महिला सदस्यमा पनि खनाल प्यानलका मुना गुरागाईँ तामाङ, गीता सुवेदी, घनश्याम थापा पाण्डे, गोमा माया तामाङ र अनिल कुमारी राई निर्वाचित भएका छन् ।
लेखा संयोजकमा खनाल पक्षका युग प्रिय निरौलाले जित हाँसिल गरे । लेखा सदस्यमा होमनाथ नेपाल र मदन प्रसाद शर्मा निर्वाचित भएका छन् । दुवै खनाल प्यानलका हुन् ।
यसअघिको नेतृत्वमा पनि नेकपा एमाले निकट पक्षले नै नेतृत्व गरेको थियो । तालतलैया नेपाल सरकारले घोषणा गरेको एक सय गन्तव्यभित्र परेको पर्यटकीय क्षेत्र हो । यहाँ विशेषगरी वनभोज खान, तथा ढुङ्गा कुदेर बनाइएका कलात्मक शैलीका मूर्ति अवलोकन गर्न नेपाल मात्र नभई छिमेकी देश भारतबाट समेत पर्यटक आउने गरेका छन् ।

























