झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा जाँदै हुनुहुन्छ ।
झापामा आयोजना गरिएका विभिन्न कार्यक्रमहरूमा सहभागी हुन अध्यक्ष ओली आजदेखि तीन दिनसम्म झापामा नै रहनुहुने एमाले प्रदेश १ का अध्यक्ष एवं ओलीका सांसद प्रतिनिधि होमबहादुर थापाले जानकारी दिनुभयो ।
अध्यक्ष ओली विराटनगर एयरपोर्ट हुँदै मदन भण्डारी स्मृति प्रतिष्ठानको २०औँ साधारण सभा उद्घाटन गर्न मोरङको उर्लाबारी पुग्नुहुनेछ । त्यसपछि जिल्ला पार्टी कार्यालयले झापाले आयोजना गरेको सम्मान गर्ने कार्यक्रममा सहभागी हुन बिर्तामोड जानुहुने कार्यक्रम रहेको छ ।
एमाले जिल्ला कमिटी झापाले केन्द्रीय अध्यक्ष ओलीदेखि हालै निर्वाचित पार्टीका वडा अध्यक्षसम्मलाई सम्मान गर्ने कार्यक्रम राखेको छ ।
बिर्तामोडमा आयोजना अनेरास्ववियुको सचिवालय बैठकलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको अनेरास्ववियुका अध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य सुनिता बरालले जानकारी दिनुभयो ।
अध्यक्ष ओली आफ्नो निर्वाचन क्षेत्र दमकमा नै बस्नुहुने कार्यक्रम तय भएको छ।
त्यस्तै, उहाँले आइतबार बिहान साढे ९ बजे दमक बजार प्रवेश गर्ने प्रवेशद्वार उद्घाटन, साढे १० बजे दमक अस्पताल भवनको निरीक्षण, साढे ११ बजे दमक ३ मा निर्माणाधीन भ्यु टावरको निरीक्षण र सुरक्षित आवास अन्तरगतका घर हस्तान्तरण गर्नुहुनेछ । यस्तै आइतबार साढे १२ बजे दमक ४ मा अपाङ्गहरूलाई ह्विल चेयर वितरण गर्नुहुनेछ भने साढे २ बजे शान्ति मार्गबाट निर्माणाधीन दमक सभा हल जाने सडकको शिलान्यास र क्याम्पस मोड आम्दा सडकको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि निर्माणाधीन क्याम्पस भवनको निरीक्षणको गरी अध्यक्ष ओली अपराह्न ४ बजे दमकमा जारी स्वास्थ्य शिविरको समापन र दमकका सबै वडा कार्यलयहरुको उद्घाटन गर्ने कार्यक्रममा जानुहुने बताइएको छ ।
त्यस्तै अध्यक्ष ओली सोमबार बिहान ९ बजे विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश गर्नेहरूलाई एमालेमा स्वागत गर्ने कार्यक्रममा सहभागी हुनुहुनेछ । सोमबार नै साढे ११ बजे गौरादह पोखरी र कृषि क्याम्पसको निरीक्षण कार्यक्रम रहेको छ । दिउँसो साढे १२ बजे देहाती गाउँ जुरोपानीमा पार्टी प्रवेश कार्यक्रम र डोरामारी माविको भवन निर्माणाधीन भवन निरीक्षणको कार्यक्रम रहेको एमाले प्रदेश १ का अध्यक्ष थापाले बताउनुभयो ।
दिउँसो २ बजे स्कूलचौन बजारमा पार्टीका विभिन्न कमिटीहरूले अध्यक्ष ओलीलाई बधाई तथा सम्मान ज्ञापन गर्ने कार्यक्रम छ । त्यसपछि निर्माणाधीन रणनीतिक र प्रादेशिक सडकको निरीक्षण गर्ने कार्यक्रम रहेको थापाले बताउनुभयो ।