कपिलवस्तु । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवा नेतृत्वको सरकार निकम्मा रहेको बताउनुभएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ बहादुरगन्जमा जसपा केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तालाई एमाले प्रवेश गराउँदै कम्युनिष्ट सरकार ढालेर निकम्मा सरकार गठन गरेको टिप्पणी गर्नुभयो ।
ओलीले आफू प्रधानमन्त्री भएको बेलामा धेरै काम भएको बताउनुभयो । उहाँले आफू नेतृत्वमा रहँदा भूकम्पले ढलेका संरचना निर्माण, खरको छानामुक्त अभियान, जनता आवास कार्यक्रम, हुलाकी राजमार्ग निर्माणजस्ता लोकप्रिय काम गरेको बताउनुभयो ।
उहाँले एमाले विकासको नीति लिएर अघि बढेकोले पार्टीप्रति जनताको विश्वास बढेको दाबी गर्दै देशभर एमाले प्रवेशको लहर चलेको बताउनुभयो । सत्तारुढ गठबन्धनप्रति कडा आलोचना गर्ने ओलीले कपिलवस्तुमा भने गाली गर्न समय खर्च गर्न नचाहेको बताउनुभयो । प्रचण्ड र माधव नेपालप्रति इंगित गर्दै उहाँले राधेराधेको नाम लिएर झुक्याउन आउने बताउनुभयो ।
ओलीले नेपालको जमिन बाँझो राखी भारतलाई पानी दिन नसकिने बताउनुभयो । ‘यता नेपालतर्फको जमिन बाँझो छ । उता भारततर्फ नेपालको पानीले सिँचाइ भई खेती भएको छ,’ ओलीले भन्नुभयो । कपिलवस्तुमा सिँचाइका लागि नौमुरे जलाशय परियोजना आवश्यक रहेको बताउनुभयो ।
सभालाई सम्बोधन गर्दै एमाले महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा एमालेले स्पष्ट बहुमत ल्याउने दाबी गर्नुभयो ।
उहाँले देउवा नेतृत्वको सरकार लक्ष्य, उद्देश्य, गन्तव्यविहीन भएको बताउनुभयो । लुम्बिनी प्रदेशमा पूर्व मुख्यमन्त्रीसमेत रहेका पोखरेलले नेपालका गुमेका भूमिसहितको नक्सा सार्वजनिक गरेका कारण ओली सरकार ढालेको दाबी गर्नुभयो ।
कार्यक्रममा एमाले सचिव लेखराज भट्टले सबै पालिकामा औद्योगिक ग्राम निर्माण गरिँदा देशमा आर्थिक क्राान्ति आउने विश्वास गर्नुभयो । सभामा अर्का सचिव छविलाल विश्वकर्माले पाँच दलिय गठबन्धनको सरकार चाँडै ढल्ने बताउनुभयो ।
कार्यक्रममा जसपा केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तासहित ठूलाे संख्यामा कार्यकर्ता एमाले प्रवेश गरेका थिए । एमाले प्रवेश गरेका गुप्ताले कृष्णनगरलगायत कपिलवस्तुका पश्चिमी भेगको विकासका लागि एमाले प्रवेश गरेको बताउनुभयो ।