काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटासामु दुईवटा विकल्प रहेको बताएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफलबारे जानकारी दिँदै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखसमक्ष दुईवटा विकल्प रहेको आफूहरुले सम्झाएको बताउनुभयो ।
‘तपाईंका सामुन्नेमा दुइटा विकल्प छन् । एउटा तपाईंले यथाशीघ्र नेकपा एमालेले निस्कासन गरेका सांसदहरुको हकमा सूचना प्रकाशित गर्नुस् । बिलम्ब भए पनि र गल्ती महसुस गर्नुस् । यदि त्यसो गर्न चाहनुहुन्न भने मार्गप्रशस्त गर्नुस्’ सभामुखलाई गरेको आग्रह सुनाउँदै भट्टराईले बताउनुभयो ।
एमाले आफैँ अन्यायमा परेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘…एमाले आजीवन जनताको न्यायका लागि लड्यो । अब आफैँलाई अन्याय हुँदा नलड्ने कुरो भएन ।’ जबसम्म सभामुखले आफूहरुले दिएका दुई वटा विकल्पमध्ये एउटा रोज्नुहुन्न तबसम्म एमालेले संसद अवरोध गरिरहने दाबी गर्नुभयो ।