काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने भएको छ ।
संघीय संसदमा जारी अवरोध र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे छलफल गर्न प्रधानमन्त्री देउवाले आइतबार अपराह्न ४ बजे सर्वदलीय बैठक आह्वान गर्नुभएको थियो ।
एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले मान्यता नदिएका दलहरू उपस्थित हुने बैठकमा सहभागी नहुने बताउनुभयो ।
संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पनि सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने भनिएका सबै दललाई बोलाए एमाले सहभागी नहुने बताउनुभयो ।
प्रतिनिधिसभाको आगामी बैठक पुस ६ गते मंगलबारका लागि आह्वान गरिएको छ । उक्त दिनको बैठकमा एमसिसी सम्झौतालाई अगाडि बढाउने सरकारको तयारी छ । अर्कोतिर एमालेले संसदमा अवरोध जारी राखेको छ । आफूबाट विभाजित भएर नेकपा (एस) गठन गरेका माधवकुमार नेपाललगायत १४ सांसदलाई कारबाही गर्नुपर्ने माग राख्दै एमालेले विरोध गरिरहेको हो ।
उनीहरूलाई सांसद पदबाट मुक्त गर्नुपर्ने एमालेको माग छ । एमाले यसअघिका सर्वदलीय बैठकमा पनि सहभागी भएको छैन ।