काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । आइतबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठकको विषय भने खुलाइएको छैन ।
प्रधानमन्त्री देउवाको सचिवालय स्रोतका अनुसार बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ ।
स्रोतका अनुसार प्रतिनिधिसभा बैठक सञ्चालन र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी सम्झौता अनुमोदनको विषयमा संसदमा भएका दलहरुसँग छलफल गर्न बैठक बोलाइएको हो ।
सरकारले संसदको चालु अधिवेशनबाटै एमसिसी सम्झौता पारित गर्ने तयारी गरेको स्रोतले उल्लेख गरेको छ । उता नेकपा एमालेले आफूले सांसदहरुलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै संसद अवरोध गर्दै आएको छ ।
त्यस्तै सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी केन्द्रलगायतका दल एमसिसी सम्झौता जस्ताको तस्तै पारित गर्न नहुने पक्षमा अडिग देखिएका छन् ।