काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट शेरबहादुर देउवा पुनः सभापतिमा निर्वाचित भएका छन् । आमकांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै सभापति देउवाले पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरुवात गर्ने अपेक्षा नेता, कार्यकर्ताले गरेका छन् ।
महामन्त्रीका उम्मेदवार समेत रहेका नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिँदै पार्टी रूपान्तरणका मुद्दामा सहकार्य हुने प्रतिबद्धता पनि जनाएका छन् । उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत देउवालाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।
‘“आदरणीय शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई । आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको शुरुआत गर्नु हुनेछ भन्ने अपेक्षा गर्छु। समुन्नत नेपालको अभियान र पार्टी रुपान्तरणका मुद्दामा सहकार्य हुने नै छ” थापाले लेखेका छन् ।
सभापति देउवाले शेखर कोइरालालाई ९०७ मतअन्तरले पराजित गरेका छन् । सभापति दोस्रोपटक निर्वाचित देउवाले कुल २७२४ मत प्राप्त गरेका छन् । दोस्रो चरणमा मंगल भएको मतदानमा खसेको ४५७४ मतमा देउवाले २७२४ मत प्राप्त गरेका हुन् ।
उनका प्रतिद्वन्द्वी कोइरालाले १८१७ मत प्राप्त गरेका हुन् । ३३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।