काठमाडौं । नेपाली कांग्रेस सभापतिका उम्मेदवार शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा जाने निर्णय गर्नुभएको छ ।
सभापतिमा पहिलो चरणको निर्वाचनपछि आएको मत परिणामको समीक्षा गर्न मंगलबार दिउँसो बसेको कोइराला समूहको बैठकले दोस्रो चरणको निर्वाचनमा जाने निर्णय गरेको हो ।
कोइरालाको यो निर्णयसँगै अब कांग्रेस सभापतिका लागि आज दिउँसो साढे ३ बजेदेखि पुनः मतदान हुने निश्चित भएको छ ।
सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवालाई संस्थापनइतर समूहका नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङले समर्थन गर्ने घोषणा गरिसकेका छन् । इतर समूहले सहयोग नगरे पनि कोइरालाले चुनावबाटै फाइनल हुने निर्णय रोज्नुभएको छ । उहाँले अन्तर्मनको आवाज सुनेर भोट हाल्न कांग्रेस महाधिवेशन प्रतिनिधिहरूलाई अपिल पनि गर्नुभएको छ ।