काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिसनमा लागेको बताउनुभएको छ । सोमबार अखिल नेपाल महिला संघले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
महासचिव पोखरेलले नेताद्वय दाहाल र नेपाल पूँजीवादतर्फको यात्रा गरेको नेपाली कांग्रेसलाई नेता बनाएर कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिसनमा लागिरहेको बताउनुभयो । उहाँले दाहाल र नेपाल दक्षिणपन्थी अवसरवादको शिकार भएको समेत दाबी गर्नुभयो ।
महासचिव पोखरेलले भन्नुभयो,‘आज प्रचण्ड र माधव नेपालहरु कांग्रेसलाई नेता बनाएर, कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने कुराको मिशनमा लाग्नुभएको छ ।’ उहाँले दक्षिणपन्थी अवसरवादमाथि विजय हासिल गर्नुपर्ने विषय आजको राजनीतिको चुनौतीको रुपमा रहेकाले सच्चा कम्युनिष्टहरु सचेत रहन आह्वान गर्नुभयो । उहाँले सच्चा कम्युनिष्टहरु एकजुट भएर अवसरवादीहरुलाई परास्त गर्नु नै अहिलेको आवश्यकता भएकोमा जोड दिनुभयो ।