काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नेतृत्वको दौडबाट बाहिरिनुभएका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापति शेरबहादुर देउवाले भेटेर सहयोग माग्नुभएको छ ।
शनिबार सभापतिको उम्मेदवारी दर्ता गरेपछि राति सवा ९ बजे बोहोराटारस्थित पौडेल निवास पुग्नुभएका देउवाले महाधिवेशनमा आफूलाई सहयोग गर्न नेता पौडेललाई आग्रह गर्नुभएको हो ।
‘सवा ९ बजेतिर उहाँ (देउवा) आउनु भएको थियो । ४५ मिनेटजति भेट भयो’, पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले भन्नुभयो, ‘राष्ट्रलाई तपाइँको अझै खाँचो छ । स्वास्थ्यको ख्याल गर्नुहोला र महाधिवेशनमा मलाई सहयोग गर्नुहोस् ।’
उहाँका अनुसार नेपाली कांग्रेसको विगत, वर्तमान र भविष्यका बारेमा छलफल गर्दै देउवाले परिवारिक कुराकानीसमेत गर्नुभएको थियो ।
शनिबार १४औँ महाधिवेशनमा सभापतिको दौडबाट बाहिरिएको विज्ञप्ति जारी गरेर जानकारी दिनुभएका नेता पौडेलले राष्ट्रिय राजनीतिमा भने रहिरहने बताउनुभएको थियो ।
कांग्रेसको आफ्नो सिद्धान्त, आदर्शभन्दा विपरीत अस्वस्थ प्रतिष्पर्धा हुने देखेर महाधिवेशनमा सभापतिको दौडबाट आफू बाहिरिएको पौडेलले बताउनुभएको थियो ।