काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औं महाधिवेशनमा प्रतिस्पर्धा नगर्नुहुने भएको छ । महाधिवेशनको उद्घाटन सत्रसम्म पौडेल सभापतिमा उम्मेदवार बन्ने चर्चा थियो । तर, संस्थापन इतर समूहमा सभापतिका अन्य आकांक्षीले अडान राखेपछि पौडेलले अब राजनीतिक प्रतिस्पर्धा नगर्ने घोषणा गर्नुभएको हो ।
शनिबार बिहान बोहोराटारस्थित आफ्नो निवासमा कार्यकर्तासँग भेट गर्दै पौडेलले जारी महाधिवेशनमा आफू सहभागी भए पनि कुनै पदका लागि उम्मेदवारी नदिने स्पष्ट गर्नुभयो । भेलामा गगन थापा, बद्री पाण्डे, मिनेन्द्र रिजाल, दिलेन्द्र बडूलगायत नेता उपस्थित थिए ।
लामो समयदेखि संस्थापन इतरको समूहबाट सहमतिमा सभापतिको साझा उम्मेदवारी दिने जनाउनुभएको थियो । तर, अन्तिम समयसम्म पनि साझा उम्मेदवार बन्ने अवस्था नभएपछि पौडेलले ‘वाकओभर’ गर्नुभएको हो । पौडेलले आफू उम्मेदवार नबन्ने घोषणा गरे पनि आफ्नो समर्थन कता हुने भन्ने कुरा भने खुलाउनुभएन ।
उमेरले ८१ वर्ष लागेका पौडेलले अहिलेसम्म आफूले नेता कार्यकर्ताको संरक्षण गर्दै आएको बताउनुभएको थियो । ‘आजसम्म मैले जे जसरी नेता कार्यकर्ताको संरक्षण गरें गरें । आजदेखि तपाईहरू आ-आफ्नो संरक्षण गर्नुहोस् । अब राजनीतिक प्रतिस्पर्धामा रहिनँ,’ पौडेलको भनाइ उद्धृत गर्दै भेलामा सहभागी पत्रकार अजयबाबु शिवाकोटीले भन्नुभयो ।
१३औं महाधिवेशनमा उहाँ सभापतिका उम्मेदवार हुनुभएको थियो । उहाँले पार्टी सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्नुभएको थियो । तर, उहाँ दोस्रो चरणको मतदानमा पराजित हुनुभयो ।