काठमाडौँ । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले महाधिवेशनको सम्मुखमा पार्टीमा विभाजित मानसिकता देखा परेको बताउनुभएको छ ।
भृकुटीमण्डपमा आयोजित नेपाली कांग्रेसको १४ औं महाधिवेशन उदघाटन सत्रलाई सम्वोधन गर्दै सिटौलाले १३ औं महाधिवेसनपछि कांग्रेसमा अनेक उतारचढाव आएको पनि बताउनुभएको छ ।
‘गएको महाधिवेशनबाट अहिलेसम्म आइपुग्दा थुप्रै उतारचढाव देखा प-यो, अब आगामी दिनमा कसरी एकताबद्व बन्नेतर्फ ध्यान जानुपर्छ’ सिटौलाले भन्नुभयो, ‘यसपालि प्रतिस्पर्धा कडा भएको छ, पार्टीमा विभाजित मानसिकता बढेको छ, अब त्यसलाई पुरेर महाधिवेशनपछि एकताबद्ध हुनुपर्छ ।’
सिटौलाले केही समयपछि हुन गइरहेको स्थानीय प्रदेश र संघीय चुनावलाई लक्षित गर्दै अगाडि भन्नुभयो, ‘वैशाख जेठमा केन्द्रको निर्वाचन हुन्छ, यो अवधिमा काँग्रेसभित्र भावनात्मक एकता हुनुपर्छ र यो आजको आवश्यकता पनि हो ।’
उहाँका अनुसार महाधिवेसनमा प्रतिस्पर्धापछि एकता अपरिहार्य छ । ‘लोकतन्त्र, लोकतान्त्रिक प्रणाली हामीले बनाएको संविधानका मूल्य मान्यता जोखिममा छन् भने राज्यका अङ्ग राम्ररी चलिरहेको छैन,’ सिटौलाले भन्नुभयो, ‘यो सरकारसँग कुनै अपेक्षा छैन, मात्र यो सरकार निर्वाचनसम्म पुगोस् किनभने निर्वाचन स्वतन्त्र निष्पक्ष र धाँधलीरहित हुन जरुरी छ, यो काँग्रेसले प्रमाणित गरिसकेको छ ।’ सिटौलाले पटकपटक काँग्रेसको आन्तरिक लोकतान्त्रिक पद्धतिमा सुधार गर्नुपर्नेमा जोड गर्नुभएको छ ।