सत्ताधारी दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पदाधिकारीको टुंगो अझै लाग्न सकेको छैन । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि देशभरबाट छानिएका करिव ४३ सय महाधिवेशन प्रतिनिधि काठमाडौं आइसकेका छन् । अन्यौलकै बीच महाधिवेशन सुरु भएको छ । कांग्रेसभित्र धेरै गुट उपगुट बनेका छन् । यसले गर्दा महाधिवेशनले कस्तो नेतृत्व चयन गर्ला भन्न सक्ने अवस्था अझै छैन । पार्टीभित्रकै सबै लोभीपापीहरुका कारण दशकौँदेखिको साख समेत गिर्न सक्ने भन्दै महाधिवेशन प्रतिनिधिहरुले चिन्ता व्यक्त गरिरेहका छन् । उनीहरुले नेतृत्वप्रति आक्रोशित हुँदै पुस्तान्तरण गर्नुपर्ने आवाज उठाउन थालेका छन् ।
विभिन्न मुलुकमा रहेका जनसम्पर्क समितिबाट पनि कांग्रेस प्रतिनिधि काठमाडौं आइसकेका छन् । शुक्रबार १४औं महाधिवेशनको उद्घाटन भएको छ ।
केन्द्रीय निर्वाचन समितिको तालिकाअनुसार शनिबार उम्मेदवारहरुको मनोनयन दर्ता गर्नुपर्नेछ । कांग्रेसमा अब कस्तो नेतृत्व आउला भन्ने चासो पनि धेरैको छ तर कांग्रेसभित्र भने उम्मेदवारको टुंगो अझै लाग्न सकेको छैन । व्यक्तिगत रुपमा उम्मेदवारी घोषणा गरेका तथा केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्मको आकांक्षा राखेका नेताहरु गुटको आधिकारिक समूहमा पर्ने/नपर्ने अन्यौलमा छन् ।
महाधिवेशन उद्घाटनको अघिल्लो दिनसम्म न संस्थापन समूहले उम्मेदवारको टुंगो लगाउन सकेको छ भने न रामचन्द्र पौडेल समूहले ।
कांग्रेस विधान अनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीका लागि निर्वाचन हुनेछ । त्यस्तै ३५ खुला केन्द्रीय सदस्य, ९ महिला केन्द्रीय सदस्य, प्रत्येक प्रदेशबाट एक महिलासहित २१ केन्द्रीय सदस्य र विभिन्न समावेशी समूह अन्तर्गत ५६ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ । सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्ने विधानको व्यवस्था छ भने कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यहरुबाट चयन हुनेछन् ।
१६७ सदस्यीय केन्द्रीय कार्यसमितिमा १३४ जनाका लागि निर्वाचन हुने भएपनि अहिलेसम्म कुनै पनि समूहले उम्मेदवारहरुको घोषणा गर्न सकेको छैन ।
यता संस्थापन समूहबाट सभापति शेरबहादुर देउवा आफैं दोहोरिने दाउमा हुनुहुन्छ । उहाँलाई चुनौती दिएका उपसभापति विमलेन्द्र निधि बाहिरिएकाले यो समूहमा अब सभापतिमा देउवालाई चुनौती दिने नेताहरु कोही पनि छैनन् ।
तर पदाधिकारी छनोट गर्न सहज छैन । अघिल्ला महाधिवेशनहरुमा देउवालाई सभापतिमा जिताउन ‘त्याग’ गर्न तयार भएका नेताहरु यो पटक कुनै हालतमा चाहेको पदमा उम्मेदवार हुने अडानमा छन् । १३ औं महाधिवेशनमा एक उपसभापति, एक महामन्त्री र एक कोषाध्यक्ष पदका लागि चुनाव हुँदा पनि देउवालाई जिताउनैपर्ने भन्दै थुप्रैले केन्द्रीय सदस्यमा चित्त बुझाएका थिए । यसपटक दुई उपसभापति, दुई महामन्त्री र ८ सहमहामन्त्री पदमा निर्वाचन हुँदा पनि आकांक्षीहरुको चित्त बुझाउन सक्ने अवस्थामा देउवा हुनुहुन्न ।
‘यसपटक कोही पनि छोड्ने मनिस्थितिमा हुनुहुन्न,’ संस्थापन निकट एक नेताले भन्नुभयो, ‘पदको संख्या बढेर के गर्ने, उम्मेदवारको संख्या त्योभन्दा बढि भएपछि ।’
नेताहरुका अनुसार दुई उपसभापतिमा विजयकुमार गच्छदार र महामन्त्री पुर्णबहादुर खड्काको दाबी छ । तर देउवा समूहभित्र पूर्वमहामन्त्री सिटौला समूहलाई पनि मिलाउनुपर्ने दबाब छ । सिटौलालाई उपसभापति दिएर भए पनि टिममा ल्याउनुपर्ने यो समूहका नेताहरुको तर्क छ । ‘हाम्रो रणनीति भनेको पहिलो चरणमै जित्ने भन्ने हो, त्यसका लागि सिटौलाजीसँग मिल्नैपर्छ,’ देउवानिकट पदाधिकारीका एक आकांक्षीले भन्नुभयो, ‘उहाँ(सिटौला) लाई के दिएर मिलाउनुपर्छ, त्यसका लागि तयार हुनुपर्छ ।’
सिटौला समूहसँग संस्थापन पक्षले तल्ला कमिटीहरुमा पनि चुनावी गठबन्धन गरेको थियो । बागमती र प्रदेश एकमा संस्थापन र सिटौला समूहले एकअर्कालाई समर्थन गरेका थिए । बुधबार पदाधिकारीका आकांक्षीको बैठकमा पनि केही नेताले केन्द्रमा पनि सिटौलासँग सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए ।
तर सिटौलासँग सहकार्य गर्दा आफूसँग भएका नेताहरुको व्यवस्थापन झनै सकसपूर्ण हुनेछ देउवाका लागि । देउवालाई सबैभन्दा बढी चुनौती महामन्त्रीको उम्मेदवार चयनमा छ । महामन्त्रीका लागि प्रभावशाली नेताहरुले अडान छोडेका छैनन् । गृहमन्त्री बालकृष्ण खाण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य एनपी साउद र प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा दाबी गरेका छन् ।
त्यस्तै देउवालाई सहमहामन्त्रीमा खसआर्य, महिला, मधेसी, आदिवासी जनजाति, थारुलगायतमा ८ वटा क्लस्टरको उम्मेदवारको टुंगो लगाउन पनि सजिलो छैन । नेताहरुको व्यवस्थापन गर्न नसके टिम छोड्ने जोखिम देखेका उत्तिकै छ । ‘पद सीमित छ, तर आकांक्षी साथीहरु धेरै हुनुहुन्छ । सबैलाई त म कसरी पद दिन सक्छु ?’ देउवाले बुधबार बुढानीलकण्ठमा पदाधिकारीका आकांक्षीहरुसँग छलफलमा भन्नुभयो, ‘अहिले महाधिवेशनमा समेट्न नसकेका साथीहरुलाई पार्टी र सरकारमा भूमिका दिन्छु । पद पाएन भनेर साथीहरु नरिसाइदिनुहोला ।’
त्यसैगरी वडा अधिवेशनको अघिल्लो दिन १७ असोजमा सभापतिका आकांक्षीहरुलाई राखेर साझा उम्मेदवार उठाउने प्रतिवद्धता गरेका वरिष्ठ नेता रामचन्द्र पौडेको समूह पनि सकसमै छ । यहाँ भने पदाधिकारीभन्दा सभापतिको उम्मेदवार छनोट नै पेचिलो बनेको छ । सभापतिमा साझा उम्मेदवार तय गर्न दिनहुँजसो छलफल भइरहेका छन् तर सहमतिभन्दा असझदारी बढ्दै गएको छ ।
चार आकांक्षीमध्ये वरिष्ठ नेता पौडेल र महामन्त्री डा. शशांक कोइरालाले सहमतिका लागि लचकता देखाएपनि पूर्वमहामन्त्री प्रकाशमान सिंह र शेखर कोइरालाले एकअर्काको नेतृत्व स्वीकार गरेका छैनन् ।
नेता सिंहले अडान नछोडेपछि सभापतिका अर्का आकांक्षी शेखर कोइरालाले पनि प्रचारप्रसार सुरु गर्नुभएको छ । उहाँले ‘एक पटकका लागि यसैपटक’ भन्ने नारा अगाडि सार्नुभएको छ । यही कारण पौडेल समूहमा साझा उम्मेदवार उठाउने प्रयास सफल हुनेमा नेता कार्यकर्ताहरु आशंका गर्न थालेका छन् ।
सभापतिको साझा उम्मेदवार तय गर्न नभएका कारण पदाधिकारीबारे औपचारिक रुपमा चयनमा छलफल नै भएको छैन । ‘कति जना उम्मेदवार बन्ने हुन् ? कस्तो टीम बन्छ ? हामी पनि अन्यौलमा पर्ने अवस्था आयो,’ पौडेल समूहका एक नेताले भने, ‘टीमकै टुंगो नलागेपछि उम्मेदवारीको के कुरा गर्नू ?’ यद्यपि सभापतिमा साझा उम्मेदवार तय भएको अवस्थामा पदाधिकारीका अन्य उम्मेदवार छनोटमा त्यति धेरै विवाद नहुने नेताहरुको दाबी छ ।
यो समूहमा उपसभापतिमा अर्जुननरसिंह केसी, महेश आचार्य, बलबहादुर केसी, चन्द्र भण्डारी, डा. रामशरण महत लगायतका नेताको दाबी छ भने महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगनकुमार थापाले उम्मेदवारी दिने औचापरिक घोषणा नै गर्नुभएको छ । सहमहामन्त्रीका लागि क्लस्टरअनुसार दलितमा जीवन परियार, महिलामा सरिता प्रसाई, कमला पन्त, आदिवासी जनजातिमा धनराज गुरुङ, पिछडियएको क्षेत्रमा बद्री पाण्डे लगायतले दाबी गरेका छन् ।
संस्थापन समूहबाट अलग भएका विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ । टिम नै बन्न सकेको छैन । लामो समय देउवा समूहमा रहेर काम गरेका उहाँको प्राथमिकतामा त्यही समूहमा भएका नेताहरु छन् । तर उहाँले आफ्नो टिममा राख्न चाहेका नेताहरु सकेसम्म देउवा टिममै बस्न चाहन्छन् ।
त्यस्तै सभापतिका अर्का आकांक्षी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सभापति लड्ने नलड्ने केही बताउनुभएको छैन । उहाँले आफ्नो समूहको चुनावी रणनीति पर्सि शनिबार मात्रै सार्वजनिक नेता सिटौलाले बताउनुभयो ।
नेपाली कांग्रेसभित्रको नेतृत्वको होडबाजीले कांग्रेसलाई ठूलो धक्का लाग्ने देखिन्छ ।