काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा भइरहेको आन्दोलन न्यायाधीशहरुको दुई गुटबीचको झगडा भएको टिप्पणी गर्नुभएको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले प्रधानन्यायायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा भएको आन्दोलनलाई न्यायाधीशको दुई गुटबीचको झगडाको संज्ञा दिनुभएको हो ।
‘अहिलेको हड्ताल न्यायाधीशभित्रको गुटको झगडा हो । कतिपय न्यायाधीशलाई एकजनालाई हटाए र त्यो पदमा पुग्न सकिन्छ कि भन्ने लागेको होला’ उहाँले भन्नुभयो, ‘कतिपय वरिष्ठ कानुन व्यवसायीलाई लागेको होला । अहिले तर्साउन सके गरुडको छाँयाजस्तो बनाउन सकिएला ।’
अदालतको आन्दोलनमा कतिपय राजनीतिक दलहरुले छद्मयुद्ध लडेको पनि ज्ञवालीले बताउनुभयो । अहिलेको आन्दोलनबाट न्यायालय सुधार नहुने पनि उहाँले दाबी गर्नुभयो ।