काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी अन्तिम केन्द्रीय समिति बैठक बहिस्कार गर्नुभएको छ ।
शुक्रबारबाट पार्टीको १४औँ महाधिवेशन सुरु हुँदै छ । तर, बिहीबार १३औँ महाधिवेशनले चयन गरेको केन्द्रीय कार्यसमितिको बैठक डाकिएको छ ।
बिहान साढे ११ बजे बोलाइएको बैठक अझै सुरु भइसकेको छैन । तर, नेताहरु बैठकमा सहभागी हुन पार्टी कार्यालय पुग्ने क्रम चलिरहेको छ ।
सो बैठकमा आफू सहभागी नहुने पौडेलले सभापति शेरबहादुर देउवालाई जानकारी गराउनुभएको छ । पार्टी कार्यालय पुगेका नेता गगन थापाका अनुसार पौडेलले आफू बैठकमा सहभागी नहुने जानकारी सभापति देउवालाई गराउनुभएको छ ।
सो बैठकमा केही सहमहामन्त्रीको पद संख्या थप्ने गरी विधान संशोधन गर्ने तयारी भएका भनिएका बेला पौडेलले बैठक नै बहिस्कार गर्नुभएको हो ।
उहाँले कांग्रेसले सर्वसम्मत विधान संशोधन गर्ने गरेको इतिहास रहेको सभापति देउवालाई स्मरण पनि गराउनुभएको छ ।