काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएका कानुन व्यवसायीहरुले आजदेखि नियमित रुपमा बहसपैरवी गर्ने भएका छन् ।

प्रधानन्यायाधीशविरुद्ध करिब १ महिनादेखि आन्दोलित कानुन व्यवसायीहरु आजदेखि काममा फर्किने नेपाल बार एसोसिएसनले जनाएको छ । सर्वोच्चमा आइतबारका लागि ३३६ मुद्दाका लागि १० इजलास गठन गरिएको छ ।

नेपाल बार एसोसीएसनको उपाध्यक्ष रक्षा बस्यालले तामेली, बन्दी प्रत्यक्षीकरणलगायतका मुद्दाको बहस गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सर्वोच्चमा गोला प्रक्रियाबाट मुद्दाको पेशी तोकिसकेको अवस्था छ । न्यायाधीशहरु नियमित इजलासमा फर्किसक्नुभएको छ । तर पनि प्रधानन्यायाधीशले राजीनामा दिनुभएको छैन । आफूहरुले तामेली, बन्दी प्रत्यक्षीकरणलगायतका मुद्दाको बहस गरे पनि आन्दोलनका कार्यक्रमलाई पनि निरन्तरता दिन्छौं ।’

प्रधानन्यायाधीशप्रति असन्तुष्ट सर्वोच्चका न्यायाधीश पनि नियमित इजलासमा फर्किसकेका छन् । गोला पक्रियाबाट मुद्दाको पेशी तोकिएसँगै उनीहरु काममा फर्केका हुन्।

नेपाल बारले प्रधानन्यायाधीश जबराको बहिरगनको माग गर्दै संसद्‍मा रहेका राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाइसकेको छ । ज्ञापनपत्र बुझाउनेक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा छलफल गर्ने बचन दिनुभएको थियो ।