काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ कार्यसमितिमा कमल थापा पक्षले बहुमत भएको छ । शनिबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा भने थापा राजेन्द्र लिङ्देनसँग पराजित हुनुभएएको छ ।
शनिबार सम्पन्न निर्वाचनमा लिङ्देन १ हजार ८ सय १७ मत पाएर अध्यक्षमा विजयी हुँदा कमल थापाले १ हजार ६ सय १७ मत प्राप्त गर्नुभयो । राप्रपाका चार उपाध्यक्षमध्ये तीन उपाध्यक्ष थापा पक्षका विजयी हुनुभएको छ । यसैगरी तीन महामन्त्रीमा दुईजना थापा पक्षका उम्मेदवार विजयी हुनुभएको छ ।
खुला उपाध्यक्षमा पदमा विक्रम पाण्डे, बुद्धिमान तामाङ र ध्रुव बहादुर प्रधान तथा महिला उपाध्यक्षमा रोशन कार्की विजयी बन्नुभयो । तामाङ र प्रधान थापा पक्षका हुनुहुन्छ । खुला उपाध्यक्ष पदमा सर्वाधिक मत पाएर विजयी विक्रम पाण्डे भने थापा र लिङ्देन दुवै पक्षबाट स्वीकार्य उम्मेदवार बन्नुभएको थियो । महिला उपाध्यक्ष कार्की पनि थापा पक्षबाटै चुनाव लड्नुभएको थियो ।
खुला महामन्त्रीमा डा. धवल शम्सेर राणा र भुवन कुमार पाठक विजयी बन्नुभयो । राणा लिङ्देन पक्षका र पाठक थापा पक्षका हुनुहुन्छ ।
महिला महामन्त्रीमा विजयी कुन्ती शाही पनि थापा पक्षकै हुनुहुन्छ । महिला महामन्त्रीमा लिङ्देन पक्षबाट रेखा थापा उम्मेदवार बन्नुभएको थियो ।
खुला उपाध्यक्षमा विक्रम पाण्डे २ हजार ५ सय २१ मतसहित विजयी हुुनुभयो । बुद्धिमान तामाङले १ हजार ९ सय ४४ र ध्रुवबहादुर प्रधानले १ हजार ८ सय १४ मत प्राप्त गर्नुभयो ।
महिला उपाध्यक्षमा रोशन कार्की १ हजार ५ सय ८९ मतसहित विजयी बन्नुभयो । महिला उपाध्यक्षका अन्य उम्मेदवार लिलादेवी श्रेष्ठले १ हजार ५४ र दुर्गा श्रेष्ठले ४ सय ५ मत प्राप्त गर्नुभयो ।
यसैगरी खुलातर्फ दुई जना महामन्त्रीमा डा. धवल शम्सेर राणा र भुवन कुमार पाठक विजयी हुनुभयो । महिला महामन्त्रीमा कुन्ती शाही निर्वाचित हुनुभयो । महामन्त्रीमा निर्वाचित पाठक र शाही थापा पक्षका हुनुहुन्छ राणा लिङ्देन समूहका हुनुहुन्छ ।
नेपालगञ्ज महानगरपालिकाका मेयरसमेत रहेका राणा राणा २ हजार २ सय २१ मतसहित विजयी हुनुभयो । यसैगरी पाठक १ हजार ७ सय ५ मतसहित विजयी बन्नुभयो ।
खुला महामन्त्रीमा चुनाव लडेका भाष्कर भद्राले १ हजार ५ सय ६७ र श्याम प्रसाद तिमिल्सिनाले १ हजार ६१ मत प्राप्त गर्नुभयो ।
महिला महामन्त्रीमा कुन्ती शाही २ हजार ८ मतसहित विजयी हुँदा अर्का प्रत्यासी रेखा थापाले १ हजार ६ सय ४० मत पाउनुभयो ।