बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा मुस्लिम समुदायकी २४ वर्षीया महिला डा. अलविरा खान प्रदेश सदस्यका लागि उम्मेदवार बन्नुभएको छ ।
मुस्लिम महिलातर्फको कोटाबाट उम्मेदवार बन्नुभएकी उहाँ शुक्रबार दिनभर प्रतिनिधिसँग भोट मागिरहनुभएको थियो । शनिबार पनि उहाँले बिहानैदेखि आफूलाई जिताउन आग्रह गर्दै मतदातासँग मत मागिरहनुभएको छ ।
कांग्रेसको १३औँ महाधिवेशनबाट क्रियाशिल सदस्यता लिएको उहाँले बताउनुभयो । ‘मैले १८ वर्षको उमेरमा कांग्रेसको क्रियाशिल सदस्यता लिएकी हुँ, अहिले २४ वर्षकी भएँ, प्रदेश सदस्य भएर जिम्मेवारी निर्वाह गर्न सक्छु भन्ने लागेको छ,’ डा. अलविराले भन्नुभयो । बाबु अंकित मियाको प्रेरणाबाट आफू राजनीतिमा लागेको उहाँको भनाइ छ । अंकित ३० वर्षदेखि कांग्रेस क्रियाशिल सदस्य हुनुहुन्छ । पूर्वक्षेत्रीय सभापति रहनुभएका अंकित अहिले महाधिवेशन प्रतिनिधि हुनुहुन्छ ।
चिकित्सक पेशा अंगाल्नुभएको हुनाले आफू बिरामीको उपचारमै केन्द्रित हुने र सँगसँगै राजनीतिलाई पनि अगाडि बढाउने उहाँले बताउनुभयो । उहाँ संस्थापनइतर समूहको प्यानलबाट प्रदेश सदस्यमा उम्मेदवार बन्नुभएको हो । मुस्लिम समुदायका महिला राजनीतिमा आउन नसकिरहेको अवस्थामा उहाँले अहिले भने अवस्था फरक रहेको बताउनुभयो । ‘विगतमा मुस्लिम समुदायमा राजनीतिमा लाग्न हुँदैन भन्ने भावना थियो, घरबाट निस्कन पाइँदैन थियो तर अहिले अवस्था फेरिएको छ, मैले राजनीतिमा लाग्दा परिवारका सबै सदस्यको पूर्ण साथ पाएकी छु,’ उहाँले भन्नुभयो ।
कपिलवस्तु-३ को प्रदेश सभा (ख) बाट प्रतिनिधि भएर उहाँ लुम्बिनी प्रदेश समिति सदस्यमा उम्मेदवार बन्नुभएको हो । आफूलाई जिताउन परिवारका सबै सदस्य प्रचारमा लागेको उहाँ बताउनुहुन्छ ।