कपिलवस्तु । राष्ट्रपति विद्यादेवी भण्डारीले बिकासको नाममा हुने चुरे दोहन रोक्नुपर्ने बताउनु भएको छ । कपिलवस्तुमा सञ्चालित महायज्ञलाई सम्बोदन गर्दै उहाँले नेपालले पाएको अपार प्रकृतिको रक्षा गर्न सबै जनता लाग्नुपर्ने बताउनु भयो ।
प्रकृतिको संरक्षण गर्दै विकासको काम गर्न पनि उहाँले अनुरोध गर्नु भएको छ ।
कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोम नेपाल छिर्न सक्ने भएकोले सर्तकता अपनाउन पर्नेमा जोड दिँदै उहाँले नयाँ भेरियन्ट हालसम्म प्रवेश नभएको हुँदा सबै नेपाली नागरिकले स्वास्थ्य मापदण्ड अपनाउन सुझाव दिनुभयो ।
कपिलवस्तुको बाणगंगा–२ नन्दनगरस्थित कैलाश आश्रमद्वारा आयोजित २७ औँ धनधान्याञ्चल महायज्ञलाई सम्बोधन गर्न उहाँ कपिलवस्तु आउनु भएको हो ।
१२७ फिट अग्लो ज्योर्तिलिंगको शिलापुजन, महायज्ञमा निर्माण गरिएका दुईवटा प्रवेशद्वार, अष्टचिरञ्जीवी मूर्ति र विश्रामलयको अनावरण गर्नुका साथ राष्ट्रपति भण्डारीले आश्रम परिषरमा रहेको दुर्गा मन्दिरको पूजाअर्चनासमेत गर्नु भएको छ ।
राष्ट्रपति भण्डारीले शिक्षा पद्धतिको विकास गुरूकुलबाटै भएकोले धर्म तथा संस्कृतिलाई संरक्षण गर्न राज्यको तर्फबाट काम भएको दाबी गर्नु भएको छ । हाम्रो संस्कति नै हाम्रो पहिचान भएको हुँदा यसको विकास गर्न राज्यले जोड दिएको उहाँको भनाइ छ ।
‘हामीलाई प्राप्त प्रकृतिको अपार स्रोतले राम्रो साथ दिएको छ । राज्यको तर्फदेखि संस्कृति र प्रकृतिलाई संरक्षण गर्ने कार्य भएको छ’, उहाँले भन्नुभयो, ‘हाम्रो पहिलो धर्म जनताको स्वस्थ्य जीवन हो । प्रकृतिको आन्नद लिन स्वस्थ्य हुनुपर्छ । यसका लागि प्रकृतिको संरक्षण गर्नुपर्छ ।’
कार्यक्रममा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल, पूर्वमन्त्री दीपकुमार उपाध्याय, राष्ट्रिय सभा सदस्य विमला घिमिरे, लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीसमेतको उपस्थिति थियो ।
महायज्ञ मंसिर २२ गतेसम्म चल्ने मूल व्यवस्थापन समितिका संयोजक बालाराम ज्ञवालीले बताउनु भएको छ ।