चितवन । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकाल लागि भारी मतान्तरले विजयी हुनु भएको छ ।
चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
ओलीले १८४० मत पाउँदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाउनु भएको निर्वाचन समितिका एक सदस्यले जानकारी दिनु भएको छ । निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा गर्न भने बाँकी छ ।
सर्वसम्मत नेतृत्व चयन गर्ने भरमग्दुर प्रयास भएको थियो । तर रावलले निर्वाचन गर्नुपर्ने र आफू अध्यक्षमा उठ्ने अडान लिएपछि मंगलबार बिहान निर्वाचन भएको थियो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो । ३३ जनाले दुवै जनाले भोट नदिएको अर्थात ‘नो भोट’ रोजेको बताइएको छ ।
रावलले अध्यक्ष नजिते केन्द्रीय सदस्यमा पनि नरहने घोषणा गरिसक्नु भएको छ ।
(यसअघिको समाचारमा ओली र रावलले पाएको मतमा तथ्य फरक भएकोमा सच्याइएको छ ।) – सम्पादक