काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि लुम्बिनी प्रदेशबाट सबै ९ केन्द्रीय सदस्यका उम्मेदवार निर्विरोध हुने भएका छन् ।
केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक जानकारीअनुसार लुम्बिनी प्रदेशको नाैवटा केन्द्रीय कमिटीमा प्रतिनिधित्व हुने नाै कोटामा अन्यको उम्मेद्वारी नपरेपछि उनीहरू निर्विरोध हुने भएका हुन् ।
लुम्बिनी प्रदेशबाट केन्द्रीय कमिटीमा आउने पुरुषतर्फका ६ तथा महिलातर्फका तीन गरी नाै कोटामा नाैजनाको मात्रै उम्मेद्वारी परेकाले सबै निर्विरोध हुने भएका हुन् । जसअनुसार लुम्बिनी प्रदेशबाट खेममान खड्का, दिनेश पन्थी, नवीन रोक्का मगर, भूमिश्वर ढकाल, लिला गिरी र हरि रिजाल निर्विरोध रुपमा केन्द्रीय कमिटीमा पुग्ने भएका हुन् ।
महिलातर्फका तीन कोटामा मेनका पोखरेल, सरिता खनाल (भुसाल) र सावित्रा अर्याल केन्द्रीय कमिटी सदस्यका लागि निर्विरोध हुने भएका हुन् । यद्यपि, यसको औपचारिक घोषणा भने केन्द्रीय निर्वाचन आयोगले गरिसकेको छैन ।