काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को १० औँ महाधिवेशनको बन्दसत्रको दोस्रो दिनको कार्यक्रम आइतबार साँझ ७ बजेपछि मात्रै सुरु हुने भएको छ ।
आइतबार बिहान १० बजे तय भएको बन्दसत्र नेतृत्वका लागि सहमति जुटाउन सारिएको हो ।
महाधिवेशनको बन्दसत्रको दोस्रो दिनको कार्यक्रम साँझको खानपछि सुरु हुने भएको छ । अहिले अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र सहमति जुटाउनका लागि निरन्तर छलफलमा व्यस्त हुनुहुन्छ ।
अध्यक्ष केपी शर्मा ओलीले आइतबार विहान १० बजे नै बन्दसत्रमा उपस्थित हुन आग्रह गर्नुभएको थियो । त्यसअनुसार अधिकांश प्रतिनिधि पुगेका बन्दसत्र सञ्चालन हुने होटल सेभेर स्टारमा पुगेका पनि थिए ।
तर झण्डै ७ घण्टा कुर्दा पनि बन्दसत्र सुरु भएको छैन । चार नेताहरुको अनौपचारिक कार्यदलले केन्द्रीय सदस्यहरुको सूची बनाएर अध्यक्ष ओलीलाई बुझाएको छ । पदाधिकारीमा भने अझैसम्म सहमति जुटेको छैन ।
सहमतिको प्रयास जारी रहेको नेताहरुले बताएका छन् । यसका लागि अझै समय चाहिने भएपछि बन्दसत्र हलमा साँझ ७ बजेमात्र बन्दसत्र सुरु हुने भएको हो ।
७ बजे सुरु हुने बन्दसत्रका लागि महाधिवेशन प्रतिनिधिहरुलाई खाना खाएर आउन भनिएको छ ।