चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक अभ्यासलाई प्रतिस्पर्धा मात्र नबुझ्न र पार्टी एकतामा असर पर्ने गरी अस्वस्थ्य प्रतिस्पर्धा नगर्न महाधिवेशन प्रतिनिधिहरुलाई आह्वान गर्नुभएको छ ।
दशौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै ओलीले नेताहरुलाई हतारो नगर्न आग्रह गर्नुभयो । ‘आफ्नो महत्वाकांक्षाका कारण अस्वस्थ प्रतिस्पर्धा र अस्वस्थ प्रतिस्पर्धाले संस्थालाई नोक्सान पार्ने गतिविधि नगरौं’ उहाँले भन्नुभयो, ‘कसै न कसैले कुनै न कुनै जिम्मेवारी त सम्हाल्नैपर्छ, तर पार्टीको प्रतिष्ठा, पार्टीको एकता खँदिलो हुने कुरामा असर गर्ने कुरा नगरौं ।’
उहाँले अगाडी भन्नुभयो, ‘फेरि पालो आउँछ । सानो देश भए पनि यत्रा पालिकाहरु छन्, प्रदेशसभाहरु छन्, प्रतिनिधिसभा छ । अरु ठाउँहरु छ । अहिले नभए फेरि आउला ।’
सिंगो देशले आफूहरुलाई हेरिरहेको भन्दै एमाले अध्यक्ष ओलीले हतारो गर्ने, लोकतान्त्रिक अभ्यासलाई प्रतिस्पर्धा मात्र बुझ्ने र प्रतिस्पर्धालाई अस्वस्थ बनाउने काम नगर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘एउटाले मात्र पनि अस्वस्थ व्यवहार भयो भने सिंगो पार्टीको छविमा आँच आउँछ ।’
अध्यक्ष ओलीले ‘पूर्ण लोकतान्त्रिक अभ्यास, उच्च समझदारी, व्यापक सहमति र सुदृढ एकता’ पार्टीको नीति भएको बताउनुभएको छ । त्यसको कार्यान्वयन दशौं महाधिवेशनबाट गर्न चाहेको भन्दै उहाँले आफूलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
एकतावद्ध पार्टी अहिलेको आवश्यकता भएको भन्दै उहाँले संघर्ष, बलिदान र अनुभवबाट खारिएर आएकाहरुले काँचो व्यवहार देखाउन नहुने बताउनुभयो । ‘अब पनि हाम्रा व्यवहार सामूहिकतातर्फ उन्मुख भएन भने हामीले सफलता प्राप्त गर्न सकौंला ?,’ उहाँले सहभागीहरुलाई प्रश्न गर्नुभयो ।
अध्यक्ष ओलीले दशौं महाधिवेशनबाट नेपालका लागि मात्र होइन, दुनियाँका लागि नमुनाको दृष्टान्त दिनुपर्ने बताउनुभयो । पूर्ण लोकतान्त्रिक अभ्यास, उच्च साझेदारी, व्यापक सहमति, सुदृढ एकता पार्टीको नीति रहेको भन्दै उहाँले भन्नुभयो, ‘यस नीतिको कार्यान्वयन यही महाधिवेशनबाट गर्नेछौं । अध्यक्षको हैसियतमा मलाई सहयोग गर्न र त्यसअनुसार उच्च समझदारी गर्न आग्रह गर्दछु ।’
अध्यक्ष ओलीले पार्टीको प्रतिष्ठामा धक्का पुग्ने गरी विचार नराख्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । विचार सिद्धान्त छैन, कता जाने हो टुंगो छैन भनेको आफूले सुनेको भन्दै उहाँले पार्टीप्रति जनविश्वास कमजोर हुने कुनै पनि क्रियाकलाप नगर्न निर्देशन दिनुभएको हो ।
दशौं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, हामीसँग विचार छ, नीति छ, सिद्धान्त छ । मार्क्सवादको द्वन्द्वात्मक भौतिकवाददेखि समृद्ध नेपाल सुखी नेपालीसम्मको विचार बोकेर अगाडि बढेका छौं ।’
दशौं महाधिवेशनको उद्घाटन समारोहअघि सार्वजनिक सञ्चार माध्यममा लेख लेखेर र अपील जारी गरेर उपमहासचिव घनश्याम भुसालले कता जाने हो टुंगो नभएको बताउनुभएको थियो ।
कसैको नाम नलिई अध्यक्ष ओलीले पार्टी विचार, नीति, कार्यक्रममा प्रष्ट रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीप्रति जनविश्वास कमजोर हुने कुनै पनि कुरा कुनै पनि कमरेडले नगरौं । पार्टी प्रतिष्ठामा धक्का पुग्ने खालका विचार र गतिविधि कुनै पनि कमरेडले नराखौं ।’
ओलीले एमालेसँग नभए कोसँग छ त सिद्धान्त भनेर प्रश्न गर्नुभयो । ‘यत्रो उपलब्धि हासिल गरेका छौं, हरेक क्षेत्रमा उपलब्धी हासिल गरेका छौं, जनताले बुझ्दै नबुझी साथ दिएका छन् त ? जनताले हामीमाथि यत्तिकै भरोसा गरेका छन् ?’ उहाँले प्रश्न गर्नुभयो ।
ओलीले एउटा मात्र नभई समग्र राष्ट्र निर्माणको विचारमा एमाले प्रष्ट रहेको बताउनुभयो । ‘हामीसँग विचार छैन होइन, नीति छैन होइन, नीतिका आधारमा कार्यक्रम, ती कार्यक्रम कार्यान्वयन गर्न योजनाहरु छन् । चाहे आन्तरिक होस् चाहे बाह्य होस्’ ओलीले भन्नुभयो, ‘हामीले कुनै कुण्ठाग्रस्त हुनुपर्ने आवश्यकता छैन ।’
नेता कार्यकर्ताले बुझेर वा नबुझेर नीति र विचार छैन भने पनि अब त्यसो नगर्न उहाँले निर्देशन दिनुभयो ।