काठमाडौं । नेकपा एमालेमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म थप्ने निर्णय भएको छ ।
शुक्रबार अबेर राति सौराहस्थित होटल जंगल क्राउनमा बसेको अन्तिम केन्द्रीय समिति बैठकले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म पदहरु बढाएर सर्वसम्मत रुपमा एकताको महाधिवेशन बनाउने निर्णय गरेको हो ।
‘अब सर्वसम्मत नहोला भन्न सकिन्न । हिजोको तुलनामा आज सम्भावना बढ्यो । ठ्याक्कै भन्न सकिन्न । केन्द्रीय कमिटीले सर्वसम्मत नेतृत्व चयनको आग्रह गरेको छ । तर यो प्रतिनिधिको अधिकारको कुरा हो । आजको निर्णयले एमालेबाट सहमतिको बाटो खोलेको छ । कोसिस त्यो ढंगले हुन्छ,’ बैठकपछि प्रचार विभाग प्रमुख योगेश भट्टराईले भन्नुभयो ।
निर्णयअनुसार अब एमालेमा केन्द्रीय समिति ३०१ सदस्यीय हुनेछ । त्यसैगरी ९९ सदस्यीय पोलिटब्यूरो गठन हुनेछ । स्थायी कमिटी ४५ सदस्यीय नै यथावत रहनेछ । पदाधिकारीतर्फ १९ जना हुनेछ । जसमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव, सात सचिव हुनेछन् ।
‘अहिलेको आवश्यकता हेर्दा २२५ नपुग्ने भएको, नयाँ अनुहार ल्याउन, पुराना साथीहरुको योग्यता क्षमताअनुसार काम गर्ने अवसर कायम गर्ने र नयाँलाई पनि आउने वातावरण बनाउन थप गरेर ३०१ बनाउने निर्णय भएको हो,’ भट्टराईले भन्नुभयो ।
केन्द्रीय कमिटीको एकतिहाइ पोलिटब्यूरो हुने उहाँले बताउनुभयो ।
विधान महाधिवेशनबाट पारित विधान हेरफेर गरिएको भट्टराईले जानकारी दिनुभयो । विधान संशोधन प्रस्ताव बन्द सत्रमा प्रस्तुत गरिने उहाँले बताउनुभयो ।
अन्तिम केन्द्रीय समिति बैठकले आयोगहरुको संख्या पदाधिकारीसहित १५ रहेकोमा बढाएको छ । भट्टराईका अनुसार अनुशासन लेखा र निर्वाचन आयोगको पदाधिकारीसहित अब २५ सदस्यीय हुनेछ ।