चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि देशमा नेकपा एमालेको सरकार बन्ने दाबी गर्नुभएको छ । उहाँले आफ्नो पार्टी सरकारमा पुगेपछि देश विकासका बाँकी काम पनि आफूले पूरा गर्ने बताउनुभयो ।
१०औँ महाधिवेशनको उद्घाटन गर्दै उहाँले आगामी स्थानीय तहको निर्वाचनबाटै ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने पनि बताउनुभयो । यो क्रम निरन्तर प्रतिनिधिसभा सदस्य चयनसम्म जारी रहने ओलीले बताउनुभयो ।
उहाँले माओवादी पूर्व लडाकूहरू नेकपा एमालेमा प्रवेश गर्न लागेको बताउनुभएको छ । उहाँले महाधिवेशनलगत्तै पूर्व लडाकूहरू सामुहिक रुपमा एमाले प्रवेश गर्न लागेको बताउनुभयो । उहाँले माओवादी पार्टीका लागि जीवन नै होम्ने तर लक्ष्य प्राप्तिपछि आफ्ना नातागोतालाई मेयर, मन्त्री बनाउने पार्टीमा अब उनीहरू बसिनराख्ने बताउनुभयो ।
अध्यक्ष नेकपा एमाले बेरोजगारहरूले तास फिट्ने र बाँड्ने पार्टी नभएको बताउनुभएको छ । उहाँले यो पार्टी सिर्जनशील व्यक्तिहरूको पार्टी भएको बताउनुभयो । आफ्नो सिर्जनशीलताले देश विकास र सम्पन्न बनाउन उहाँले आग्रह गर्नुभयो ।
उहाँले नेकपा एमाले सधैँ देशवासीप्रति चिन्तित रहने पार्टी भएको र सोहीअनुसार समृद्ध नेपाल सुखी नेपाली अभियान चलाएको दाबी गर्नुभयो । उहाँले अब नेपाली सन्ततिले दुःख, अशान्ति, बेरोजगारी, अभाव, बिरामी, रोगी भएर बस्नुनपर्ने पनि बताउनुभयो । यस्ता विषय अब सिनेमा र डकुमेन्ट्रीमा मात्रै देखिने उहाँको भनाइ छ ।
अध्यक्ष ओलीले आफु प्रधानमन्त्री नभए पनि यो सरकारलाई आफैँले चलाइरहेको बताउनुभएको छ । आफु प्रधानमन्त्री नभए पनि देउवा नेतृत्वको सरकार आफ्नो हातमा रहेको भन्दै आफुले चाहे कठपुतली जस्तै नचाइरहने बताउनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई मञ्चमा राखेर ओलीले सरकारलाई आफुले कठपुतलीजस्तै नचाइदिने र नचाइरहेको बताउनुभएको हो ।
उहाँले प्रधानमन्त्रीले चाहेर पनि राम्रो काम गर्न नसक्ने बताउनुभयो । उहाँले शान्ति प्रक्रियालाई सही ढंगले टुंगो लगाउन सहयोग गर्ने भन्दै यसलाई टुंगोमा लैजान आग्रह पनि गर्नुभयो ।
अध्यक्ष ओलीले आफु प्रधानमन्त्री हुँदा खुट्टा तान्ने दलहरु प्रधानमन्त्रीका सहयात्री बनेर खुट्टा तान्न थालेको भन्दै सर्तक हुन आह्वान गर्नुभएको छ ।
उहाँले उद्घाटनका बेला प्रधानमन्त्रीलाई विशेष अतिथिका रुपमा वोलाएर आलोचना नगर्ने बताउँदै खुट्टा तान्नेसँग सतर्क रहन आग्रह गर्नुभयो ।
उहाँले प्रधानमन्त्रीले काम गर्न खोज्दा पनि सहयात्रीबाट साथ नपाइरहेको पनि बताउनुभयो । उहाँले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धन्यवाद दिनुभयो ।
‘प्रधानमन्त्रीज्यू यहाँ आएर नेपाली कांग्रेसको तर्फबाट एमालेको महाधिवेशनको पूर्ण सफलताको शुभकामना दिनुभयो । म उहाँलाई धन्यवाद दिन चाहन्छु,’ ओलीले भन्नुभयो ।
प्रधानमन्त्री भएको ६ महिनापछि ओली र देउवा सँगै मञ्चमा बस्नुभएको हो ।