चितवन । नेकपा एमालेका अध्यक्ष केपी ओलीले चुनावी अभियान सुरु गर्नुभएको छ । पार्टीको १०औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा ओलीले एमालेलाई नभई देशको विकास गर्न बहुमत आवश्यक रहेको बताउनुभयो ।
‘एमालेलाई होइन, देश विकास गर्न बहुमत दिनुस्,’ नारायणी नदी किनारमा उभिएर ओलीले भन्नुभयो, ‘एमाले देश र लोकतन्त्र संस्थागत गर्न आवश्यक छ ।’
ओलीले जनादेशबाट प्राप्त अधिकारको रक्षाका लागि पनि एमाले चाहिने दाबी गर्नुभयो । ‘देशलाई एकजुट बनाएर समस्या समाधानका लागि अघि बढ्ने काम अब एमालेबाट हुन्छ । परमादेशबाट सरकार फेरिने असंवैधानिक कुरामा नजाउँ जनताका बीचमा जाउँ भनेका थियौं, अरु कतिपय दल डराए हामी गयौं । चुनावहरू आउँदैछ म भन्न चाहन्छु हामी अब चुनावको तयारीतर्फ जाँदैछौं जनमतको तयारीमा छौं । एकल बहुमत ल्याउनुपर्छ । एमालेका लागि होइन देश बनाउन एकल बहुमत चाहिएको छ,’ ओलीले भन्नुभयो ।