चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा ६ जना शीर्षस्थ नेताहरुले सम्बोधन गर्नुहुने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उदघाटन नारायणी नदी किनारमा गर्नुहुनेछ ।
उदघाटन समारोहलाई प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नुहुनेछ । एमालेको तर्फबाट अहिलेसम्म अध्यक्ष केपी शर्मा ओलीले मात्र सम्बोधन गर्नुहुने भएको छ ।
उद्घाटन समारोहमा अन्य राजनीतिक दलका शीर्ष नेताहरुले पनि शुभकामना मन्तव्य राख्नुहुनेछ । जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका नेता लिलामणि पोखरेल र राप्रपा अध्यक्ष कमल थापाले एमाले महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने टुंगो लागेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
एमालेबाट अलग भएर छुट्टै पार्टी गठन गरेका नेकपा एकीकृत समाजवादीका नेताहरुलाई भने एमालेले महाधिवेशनमा निमन्त्रणा गरिएको छैन ।