चितवन । भोलिदेखि सुरु हुन लागेको नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुनका लागि एमाले अध्यक्ष केपी ओलीसहितका शीर्ष नेता बिहीबार चितवन आइपुग्नुभएको छ । एमालेको अधिकांश शीर्ष नेता हवाई यात्रामार्फत चितवन आउनुभएको हो ।
एमालेको महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधि र अतिथिहरू पनि हवाइयात्रामार्फत चितवन आएका छन् । जस कारण बिहीबार भरतपुर विमानस्थल दिनभरजसो व्यस्त बन्यो । बिहीबार बुद्ध एयरको ११ वटा र गुण एयरको तीन वटा उडान भएको विमानस्थलका निमित्त प्रमुख दीपक विकले जानकारी दिनुभयो ।
शीर्ष नेताहरू हवाई यात्रामार्फत आएपछि विमानस्थलमा उनीहरूलाई स्वागत गर्नेको भीड थियो । ‘हिजो अस्तिकै संख्यामा उडान भए पनि जहाज भरिएका थिए । शीर्ष नेताहरू पनि आएकाले उहाँहरूको स्वागतका लागि नेता कार्यकर्ताको बाक्लो भिड लागेको हो’, विकले भन्नुभयो ।
बिहीबार एमाले अध्यक्ष ओलीसहित स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’, नेताहरू सुवास नेम्वाङ, महेश बस्नेत, शंकर पोखरेल, विष्णु पौडेल, विद्या भट्टराई, बिन्दा पाण्डे, टोपबहादुर रायमाझी, गोकर्ण विष्ट, पद्मा अर्याल, शेरधन राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत १९ नेता हवाइयात्रामार्फत चितवन आउनुभएको हो ।
एमाले उपाध्यक्ष भीम रावल पनि सडकमार्ग हुँदै चितवन आइपुग्नुभएको छ । पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि चितवन आउनुभएको छ । नेताहरूको आगमन ह्वात्तै बढेपछि सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको थियो ।