दार्चुला । एमालेको १०औं महाधिवेशनका लागि दार्चुलाबाट प्रतिनिधिसहितको टोली बुधबार चितवनतर्फ गएको छ । १२ जना महाधिवेशन प्रतिनिधिसहित ५० जनाभन्दा बढीको टोली चितवनतर्फ गएको एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो ।
महाधिवेशन प्रतिनिधिसमेत रहेका बडालले अध्यक्ष केपी ओलीकै नेतृत्वमा एमाले अघि बढ्ने बताउनुभएको छ । देशभर वडादेखि पालिकासम्मको अधिवेशन अधिकांश सहमतिमा भएको तथा पार्टी एकढिक्का भएर अघि बढिरहेकाले सकेसम्म नेतृत्व सर्वसम्मत चयन हुने आफूहरूको आशा रहेको उहाँकाे भनाइ छ ।
‘सर्वसम्मत हुन नसकेमा स्वभाविक रूपमा लोकतान्त्रिक पद्धतिअनुरूप निर्वाचन हुनेछ, पार्टीको निर्वाचनमा कसले जित्यो वा हार्याेभन्दा पनि सहभागिता ठूलो कुरा हो,’ बडालले भन्नुभयो ।
एमालेको १०औँ महाधिवेशनका लागि दार्चुलाबाट पार्टी अध्यक्ष रामदत्त जोशी, पार्टी सचिव ज्ञानेन्द्र घर्ती, नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामी, सुदूरपश्चिम प्रदेश सभा सदस्य गेल्बुसिह बोहरालगायत एमाले नेता देवसिंह महर, हरदेव जोशी, लालबहादुर विक, दानीराम पार्की, उर्मिला बोहरा, मेनुका अवस्थी, गौरी बडाल र दुर्गादेवी धामी गरी १२ जना महाधिवेशन प्रनितिधि छनोट भएका थिए ।