काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफूलाई असहज लागेका बेला माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)लाई पन्छ्याएर अघि बढ्ने दाबी गर्नुभएको छ ।
युवा संघ नेपालको ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नाम उल्लेख नगरी माओवादी केन्द्र र नेकपा (एस) कांग्रेसको पुच्छर भएको टिप्पणी गर्नुभयो । कांग्रेसले पुच्छर हल्लाउँदा माओवादी केन्द्र र नेकपा (एस) कहाँ पुग्छन् टुंगो नहुने ओलीको भनाइ छ ।
‘कांग्रेसको पुच्छरले एमालेलाई टक्कर दिन खोजेका छन् । कांग्रेसले पुच्छर हल्लाउँदा कहाँ पुग्छन् टुंगो छैन’, ओलीले भन्नुभयो ।
उहाँले न्यायालयको सुधार र सुदृढीकरणका लागि भइरहेको कानुन व्यवसायीको आन्दोलनलाई सत्तारुढ गठबन्धनको रिफ्लेक्सन भएको टिप्पणी गर्नुभएको छ ।
अध्यक्ष ओलीले गठबन्धनभित्रको विवाद र चरित्र न्यायालयमा देखिएको बताउनुभयो । ‘अहिले देशमा आन्दोलन छैन । तर, न्यायालयमा आन्दोलन छ । यो पाँच दल (गठबन्धन)को रिफ्लेक्सन हो’, उहाँले भन्नुभयो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर १४ कात्तिकबाट नेपाल बार एसोसिएसनको आन्दोलन र सर्वोच्च अदालतकै न्यायाधीशको इजलास बहिस्कारलाई अध्यक्ष ओलीले इंगित गर्दै गठबन्धनको रिफ्लेक्सन भनेर टिप्पणी गर्नुभएको हो ।