काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको १० औँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन माधवकुमार नेपाललाई पार्टीको रूपमा निम्ता गर्न नमिल्ने बताउनुभएको छ ।
एमालेले पार्टी अनुशासनको कारबाही गरेका नेता नेपालसहित पार्टी प्रतिनिधिको रूपमा महाधिवेशनमा बोलाउन नसकिने ओलीको भनाइ छ ।
गत २५ साउनमा आफ्नो सरकार ढाल्ने र देशको अहितमा काम गरेका हुनाले अनुशासनको कारबाही गरेकाले माधव नेपाललाई बोलाउन नसकिने उहाँले बताउनुभयो ।
महाअधिवेशनमा नेता नेपाललाई किन नबोलाउनु भएको भन्ने पत्रकारको प्रश्नको जवाफ दिने क्रममा उहाँले भन्नुभयो, नेपालले एमाले फुटाएको, अनुशासनहीन कार्य गरेको र पार्टी फुटाएर गएकाहरूको गुटलाई पार्टी मान्न सकिँर्दैन । गुटका नेतालाई पार्टीको हैसियतले बोलाउन मिल्दैन ।’
उहाँले पार्टीबाट माधव नेपाल चोइटिएर गए पनि एमाले नेता नघटेको दाबी गर्नुभयो ।
‘चोइटिएर एमालेका नेता घटेका छैनन् । निर्वाचित गराएकाले पार्टी छाडेका हुन् । छाड्ने कम छन् । प्रवेश गर्ने बढी छन् । एमाले सुदृढ, एकत्रित र समृद्ध छ,’ उहाँले भन्नुभयो ।
आउने चुनावपछि एमालेले सरकार चलाउने उहाँको भनाइ छ । ‘राष्ट्र नीति बनाउँदा कसैले पनि आलोचना गरेका छैनन्,’ उहाँले भन्नुभयो ।
























