काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रको अधिवेशन झापामा गरेर देखाउन पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनौती दिनुभएको छ ।
प्रचण्डले चितवनमा महाधिवेशन गरेर एमालेले आफूलाई घेराबन्दी गरेको गुनासो गरेका बेला अध्यक्ष ओलीले कोही चुनाव लडेको छ भन्दैमा महाधिवेशन गर्नैं नहुने कुरा स्वीकार्य नभएको बताउनुभयो ।
‘महाधिवेशन कहाँ गर्ने समस्या होइन । रोल्पातिर गरौं चुनाव लड्नुभएको छ । सिरहा गरौं उहाँ लडेको छ । काठमाडौंमै गरौं उहाँ चुनाव लडेको छ । चितवनमा गर्दा पनि उहाँ लडेको छ,’ ओलीले भन्नुभयो, ‘हामीले त आफ्नो पार्टीको चुनाव गरिरहेका हौं । बरु म उहाँलाई झापा आउन आह्वान गर्छु । झापा आएर माओवादी अधिवेशन गर्नुस् ।’
कोही चुनाव कहीँबाट लडेको छ भन्दैमा महाधिवेशन गर्नै नहुने भन्ने मान्न नसकिने उहाँको भनाइ छ । ‘मलाई सिध्याउन यही (चितवन) बाटो हिँड्नु भयो भनेर आरोप लगाउनुहुन्छ । कसरी सकिन्न ? सिपीजीले महाधिवेशन सकेपछि भोलिपल्ट भनेकाले उहाँले उता भन्नू भएको होला, हामीलाई होइन पनि । उहाँको निर्वाचन क्षेत्रमा गएर गरे भन्ने लाग्छ भने मेरो निर्वाचन क्षेत्रमा आएर गर्नुस्,’ उहाँले भन्नुभयो ।