काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलको उम्मेदवारीलाई स्वभाविक रुपमा लिने बताउनुभएको छ । अल्फाविटामा सम्पादकहरुसँग अन्तरक्रियामा अध्यक्ष ओलीले लोकतन्त्रमा चुनौती स्वभाविक भएको बताउनुभयो ।
‘रावलजीले मलाई चुनौती दिनुभएको छ । मैले बढी खटेकाले आराम दिन खोज्नु भएको हो । उहाँको स्नेहपूर्ण सुझाववाट म प्रभावित छु । रावलजीलाई मन पराउनेहरूले मैले विश्राम लिए हुन्छ भन्ने देखिन्छ । तर, रावलजीको मनमा यो छैन,’ उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले आफ्नो उम्मेदवारी टुंगो नलागेको पनि बताउनुभयो । ‘म उठने/ नउठने कुनै टुंगो गरेको छैन । मलाई कसैले चुनौती दिन खोज्यो भने लोकतन्त्रमा चुनौती स्वाभाविक हो,’ उहाँले भन्नुभयो ।
आफू उठ्दा अरुले प्रतिस्पर्धा नगरोस भनेर आफूले नचाहने उहाँको भनाइ थियो । ‘म उठ्ने भएकाले अरू नउठुन् भन्ने चाहन्न । नउठोस् भनेर दबाब दिने छैन । सहमति हुँदैन भने मैले सहमति गर भनेर कर गर्दिनँ,’ उहाँले भन्नुभयो ।