काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले चुनाव भए वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

आकांक्षीहरुको संख्या बढेसँगै महाधिवेशन निर्वाचनतर्फ केन्द्रित भएका बेला नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । केपी शर्मा ओलीको विकल्प नभएको बताउँदै उपाध्यक्ष पदभन्दा माथि नै उम्मेदवारी (वरिष्ठ उपाध्यक्ष पद) दिने घोषणा गर्नुभएको हो । उहाँले सहमति भए मान्य हुने बताउँदै चुनाव भए मैदानमा उत्रने बताउनुभयो ।

एमाले विधानअनुसार ६८ वर्षीय नेम्वाङले अर्कोपटक नेतृत्व दाबी गर्न मिल्दैन ।

विद्यार्थी छँदा नै राजनीतिमा लाग्नुभएका नेम्बाङ भूमिगत कालदेखि नै कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको हो । नेकपा (एमाले)का तर्फबाट कानुन तथा न्याय मन्त्री हुनुभएका उहाँले संविधान सभा अध्यक्ष र सभामुखको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । उहाँकै नेतृत्वमा संविधानसभाबाट संविधान निर्माण भएको हो ।