नेपालगञ्ज । भन्सार छलेर नेपाल ल्याइँदै गरेकाे लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरी नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । नेपालगञ्जस्थित सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट गएकाे सशस्त्र प्रहरीकाे टोलीले सोमबार बिहान ४ बजे लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक अशोक बमले जानकारी दिनुभयो । तस्करहरूले खुला सीमाकाे फाइदा उठाउँदै भारतबाट भन्सार छलेर नेपाल भित्र्याउँदै गरेकाे अवस्थामा प्रहरीले कपडा बरामद गरेकाे हाे ।
टोलीले बाँकेको खजुरा गाउपालिका-७ सिमलघारीबाट भारतबाट लुकाइछिपाई नेपालगञ्ज ल्याउँदै गरिएको पाँच लाख ५८ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक बमले बताउनुभयो । उहाँका अनुसार बरामद लत्ताकपडामा दुई लाख ८८ हजार रुपैयाँ बराबरको सुट पाइन्टको दुई सय ८८ थान, दुई लाख ७० हजार रुपैयाँ बराबरको ९० पिस विवाहमा लगाउने साडी रहेका छन् ।
बरामद सबै लत्ताकपडालाई आवश्यक कारवाहीको लागि सोमबार दिउँसो नेपालगञ्ज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी उपरीक्षक बमले जानकारी दिनुभयो ।