चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको लागि उद्घाटन र बन्द सत्र हुने स्थानमा आवश्यक पूर्वाधार निर्माणलाई तीव्र पारिएकाे छ । उद्घाटन स्थलको मञ्चमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान भइरहेकाे छ भने महाधिवेशन स्थल ड्राेनले निगरानी हुनेछ ।
मञ्च नेपालमा प्रयोग भएको सबैभन्दा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै निर्माण भइरहेको मञ्च व्यवस्थापन समिति संयोजक एवं एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठले बताउनुभयो । प्रचार सहयोग समिति चितवनले महाधिवेशनको तयारीका सम्बन्धमा सोमबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक श्रेष्ठले पाँच लाख नागरिकले सजिलै हेर्न मिल्ने गरी मञ्च निर्माण भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार एकै स्थानबाट पाँच लाख मानिसले उद्घाटन सत्र अवलोकन गर्न नसक्ने भएकाले विभिन्न स्थानबाट लाइभ प्रशारण गरिनेछ । उद्घाटन सत्र लाइभ गर्न भिडियो क्यामेराका साथै कम्तिमा दुई वटा ड्रोन क्यामेरा प्रयोग गरिने श्रेष्ठले बताउनुभयो ।
९ मंसिरमा हस्तान्तरण गर्ने गरी मञ्च निर्माण भइरहेको श्रेष्ठकाे भनाइ छ । उनले हालसम्म मञ्च निर्माणको ४० प्रतिशत काम सकिएको बताउनुभयो । त्यसैगरी, सौराहामा बन्द सत्र हुने हल निर्माण समेत आइतबारदेखि नै सुरु भइसकेको उहाँले जानकारी दिनुभयो । ‘बन्द सत्र हुने सौराहाको होटल सेभेन स्टार नजिकै खाली चौरमा आल्मुनियमको संरचना बनाइएको छ,’ उहाँले भन्नुभयो ।
पत्रकार सम्मेललनमा अनुगमन समितिको संयोजकमा काशीनाथ अधिकारीले महाधिवेशनको कामको नियमित अनुगमन भइरहेको बताउनुभयो । समितिले कामलाई थप गति दिन आवश्यकताअनुसार जनशक्ति व्यवस्थापन समेत गरेको उहाँको भनाइ छ । महाधिवेशन तयारीले हिजोदेखि गति समातेको अधिकारीले बताउनुभयो । जनसहभागिता जुुटाउन गाउँगाउँमा घरदैलो कार्यक्रम समेत जारी रहेको उहाँकाे भनाइ छ ।
१० मंसिरमा हुने उद्घाटन सत्रमा सहभागी हुन विभिन्न ६ स्थानबाट र्याली निकाल्ने तयारी भइरहेको अधिकारीले बताउनुभयो । गैँडाकोट, आँपटारी, विशाल चोक, केन्द्रीय बस टर्मिनल, त्रिचोक, बेलचोकबाट र्याली निकाल्दै ब्यापक जनसहभागिता जुटाउने गरी तयारी भइरहेको अधिकारीको भनाइ छ ।
प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले जिल्लामा विभिन्न ६ वटा समिति निर्माण गरेर काम अगाडि बढाएको बताउनुभयो । व्यापक जनसहभागिता जुटाउन जिल्लाका ९८ वटै वडा कमिटी, दुई वटा शाखा कमिटी र पार्टीका सबै जनवर्गीय संगठन परिचालन भइरहेको सुवेदीले जानकारी दिनुभयो ।
नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जिल्लामा निर्माण गरिएका सबै समितिले आफ्नो कामलाई तीव्र रुपमा अगाडि बढाइरहेको बताउनुभयो । जिल्लामा रहेका सुरक्षा निकायहरूसँग सहकार्य गरेर ट्राफिक व्यवस्थापनसहित सुरक्षा प्रबन्ध मिलाउने रावलले जानकारी दिनुभयो ।