काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले अहिलेको जनादेशको रक्षा गर्नु नेकपा एमालेको मुख्य चुनौतीका रुपमा रहेको बताउनुभएको छ । एमालेको महाधिवेशन सम्बन्धमा बुद्धिजिवी संगठनले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै नेता पोखरेलले पाँच गठबन्धन जनादेशविरुद्ध गएको जिकिर गर्नुभयो । एमाले वैचारिक सोचबाट बाहिर छ भन्नु मिथ्यापूर्ण रहेको भन्दै उहाँले जुनसुकै हिसाबमा पनि पहिचान स्थापित गर्न सफल पार्टीका रुपमा नेकपा एमाले रहेको दाबी गर्नुभयो ।
देशमा एमालेले नै लोकप्रिय कार्यक्रमहरु अघि बढाएको समेत उहाँको जिकिर छ । कस्तो पार्टी निर्माण गर्नुपर्छ भन्ने कुरामा नेकपा एमाले केन्द्रित हुनुपर्नेमा जोड दिँदै उहाँले समाज परिवर्तनका लागि नेकपा एमाले तत्पर रहनुपर्ने स्पष्ट पार्नुभयो । उहाँले अहिलेको नेकपा एमाले परम्परागत कम्युनिष्ट विचारधारामा नभई नयाँ चिन्तनमा विश्वास राख्ने तर्क समेत गर्नुभयो । अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद निर्माण गर्नुभएको भन्दै उहाँले त्यसलाई कसैले पनि नकार्न नहुनेमा जोड दिनुभयो ।