इलाम । इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठले वडाध्यक्षमा निर्वाचित भएपछि हालसम्म प्राप्त गरेको सेवासुविधा बापतकाे रकम सामाजिक कार्यमा खर्चिने घोषणा गर्नुभएको छ । इलामको गजुुरमुखीमा आइतबार आयाेजित पत्रकार सम्मेलनमा उहाँले हालसम्म कानुनबमोजिम प्राप्त गरेको रकम सामाजिक कार्यमा खर्चिने घोषणा गर्नुभएको हो ।
उहाँले नगरपालिकाबाट अहिलेसम्म सेवासुविधा बापत पाँच लाख रुपैयाँ खातामा जम्मा भएको बताउनुभयो । त्यसमध्ये दुई लाख रुपैयाँ माइस्थान मन्दिर क्षेत्र विकास समितिको अक्षय कोषमा जम्मा गर्ने बताउनुभयो । अक्षय कोषबाट प्राप्त रकम इलाम बजारमा रहेका परेवाको चारो व्यवस्थापनमा खर्च हुने गरेको छ । बाँकी दुई लाख रुपैयाँ भने नेपाली कांग्रेसको जिल्ला कार्यालय भवन निर्माणका लागि दिने श्रेष्ठले घोषणा गर्नुभयो । कांग्रेस इलामको आफ्नो कार्यालय भवन छैन । कांग्रेसले भवन निर्माण गर्ने तयारी गरिरहेको छ ।
बाँकी रहेकाे एक लाख रुपैयाँ भने कांग्रेसको चालु महाधिवेशन र विभिन्न पालिकाहरुलाई सहयोग गरेको श्रेष्ठले बताउनुभयो । आफू जनताको सेवाका लागि जनप्रतिनिधि भएको र जनताको सेवा गरे बापत सुविधा नलिने घोषणा गरेकाले कानुन बमोजिम प्राप्त रकम सामाजिक कार्यमा खर्चिएको उहाँले बताउनुभयो । ‘सेवा सुविधाका लागि जनप्रतिनिधि लिप्त हुनुहुँदैन, कानुन बमोजिम मेरो खातामा रकम जम्मा भयो,’ उहाँले भन्नुभयो,‘त्यो रकम आफूले खर्च नगरेर मन्दिरको अक्षय कोष र पार्टीका लागि खर्च गर्ने निर्णय गरेको हुँ ।’ कांग्रेसका पूर्व सभापति केशव थापाले श्रेष्ठले महानता प्रकट गरेको टिप्पणी गर्नुभयो । ‘सबैले गर्नुपर्छ भनेर म भन्दिन, सक्नेले गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘यो एउटा महानता हो, यस्तो मान्छे थोरै हुन्छन् ।’ श्रेष्ठले नगरपालिकाबाट यातायात सुविधा लिनुभएको छैन । इलाम नगरपालिकाले वडाध्यक्षलाई मोटरसाइकल उपलब्ध गराएको छ । श्रेष्ठ २०४६ देखि विद्यार्थी राजनीतिबाट कांग्रेससँग जोडिनुभएको हो । तरुण दल इलामका अध्यक्षसमेत रहेका श्रेष्ठ इलाम निर्वाचन क्षेत्र २ को क्षेत्रीय सभापतिका आकांक्षी हुनुहुन्छ ।