काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेल क्षेत्रले बिग्रेको देशलाई बनाउन सहयोग गर्ने बताउनुभएको छ ।
नेपाल खेलकुद महासंघले आइतबार गरेको ‘खेल नीति सम्मेलन’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले खेलले मानव शरीरलाई स्वस्थ बनाउन मद्दत गरेजस्तै बिग्रेको देशलाई पनि खेल क्षेत्रले सुधार्ने र बनाउने काम गर्ने बताउनुभयो ।
‘फिजियोथेरापीले नचलेको हात चलाउँदो रैछ, नचलेको हात चलाउँदो रैछ, दुखेको ढाडलाई निको बनाउँदो रैछ’, उहाँले भन्नुभयो, ‘खेलले बिग्रेको देशलाई पनि बनाउँछ । विवाद भएको देश आफ्नो खेलाडी टिमलाई पठाउने गरेको छ ।’
मस्तिष्कमा पर्याप्त अक्सिजन नपुगे ऐँठन हुने भन्दै उहाँले शरीरका अंगमा पर्याप्त अक्सिजन पुर्याउन खेल र व्यायामले सहयोग गर्ने बताउनुभयो ।
यसर्थ खेल मानव स्वास्थ्यका लागि अति आवश्यक रहेको उहाँको भनाइ छ ।
उहाँले आफूलाई पनि खेलमा रुचि भएको भए पनि चिकित्सकले लड्न नहुने सुझाव दिएकाले खेल्न नसक्ने बताउनुभयो ।
दुई पटक मिर्गौला प्रत्यारोपण गराउनुभएका उहाँले भन्नुभयो, ‘म फुटबल खेल्थेँ, ब्याटमिन्टन पनि खेल्थेँ । अब ब्याट मिन्टन खेल्ने अवस्था रहेन जस्तो लाग्छ है । फेरि डाक्टरले लड्न पाइँदैन भन्या छ । ब्याट मिन्टन खेल्दा लडिन्छ कि जस्तो लाग्छ । फुटबलबाट ब्याट मिन्टन, अहिले टीटीतिर, पछि चेसतिर झर्न बेर लाउँदिनँ ।’
खेल मानव स्वास्थ्यका लागि रहेको भन्दै उहाँले हरेक उमेर समूहका लागि खेल आवश्यक रहेको बताउनुभयो ।