काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कसैको वैशाखी नटेकी निर्वाचनमा लड्न सक्षम रहेको बताउनुभएको छ । काठमाडौं महानगरपालिकाले आज आयोजना गरेको नेपाल सम्वत् ११४२ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
अध्यक्ष ओलीले आफ्नो पार्टी एक्लै निर्वाचनमा लड्न सक्षम रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी आफैँ निर्वाचन लड्न सक्षम छौँ । आफैँ जित्छ।”
अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई देख्न नसक्नेहरुले फुटाएको आरोप लगाउँदै एमालेलाई सिध्याउन सबै राजनीतिक दल आए पनि केही फरक नपर्ने बताउनुभयो ।
“ सत्ता गठबन्धनका केही दलले निर्वाचनसम्म सँगै जान्छौँ भनेका छन्”, उहाँले भन्नुभयो, “तर नेपाली कांग्रेसले त्यसो भनेको हामीले सुनेका छैनौँ । अरु दल कांग्रेसको औंला नसमातेर हिँड्न सक्दैनन् ।”
सो अवसरमा अध्यक्ष ओलीले नेपाल सम्वत्को क्यालेण्डरसमेत सार्वजनिक गर्नुभयो ।
काठमाडौँ महागरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका नागरिकलाई सर्वसुलभ सेवा पु-याइरहेको बताउनुभयो । उहाँले साझा यातायातमा ज्येष्ठ नागरिक र पाँच वर्षभन्दा मुनिका बालबालिकालाई निःशुल्क सेवा दिइरहेको जानकारी दिनुभयो । महानगरका कमिटीका अध्यक्ष निर्मल देउलाले स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजय गराउने बताउनुभयो ।