काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘गोरखा भूकम्प’बाट क्षतिग्रस्त बनेको स्वयम्भूस्थित ज्ञानमाला भजन खलःको उद्घाटन गर्नुभएको छ । उहाँले स्वयम्भूमा आज आयोजित एक कार्यक्रमका बीच उक्त भजन खलःको उद्घाटन गर्नुभएको हो । सो भवनको पुनःनिर्माण हालै मात्र सम्पन्न भएको हो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले ज्ञानमाला भजन खलःले ऐतिहासिक विरासत बोकेको र त्यसले समाजलाई जागृत गर्दै आएको बताउनुभयो । उहाँले ज्ञानमाला भजन खल स्थापनाको प्रमुख उद्देश्य समाजमा शान्तिका प्रवद्र्धक भगवान बुद्धको शाश्वत उपदेशको प्रवद्र्धन गरी सद्भाव, सहिष्णुता र सामाजिक चेतना फैलाउनु, नागरिकलाई साक्षर बनाउनु तथा सांस्कृतिक जागरण ल्याएर महिला हकहितका पक्षमा गोलबन्द गर्नु रहेको उल्लेख गर्नुभयो ।
राष्ट्रपति भण्डारीले प्रकृति र संस्कृति एकअर्काका परिपूरक भएको उल्लेख गर्र्दै जनताका आस्थाका रुपमा रहेका मौलिक सांस्कृतिक धरोहरको सम्वद्र्धन गर्न र त्यस वरपरका प्राकृतिक सम्पदाको संरक्षण गरी पर्यावरण सन्तुलन कायम राख्न आवश्यक रहेको बताउनुभयो । “प्राकृतिक र सांस्कृतिक सम्पदा स्थलको स्वच्छता र कलात्मक सौन्दर्यतामा जोड दिँदै त्यसको मौलिकपनलाई जोगाउन आवश्यक रहन्छ”, उहाँले भन्नुभयो, “यसका निम्ति यस क्षेत्रमा रहेका प्राकृतिक विज्ञान सङ्ग्रहालय, ज्ञानमाला भजन खलः लगायत संस्थाले प्रकृति र संस्कृतिको संरक्षणमा ध्यान दिनुहुनेछ भन्ने लागेको छ ।” उहाँले ऐतिहासिक पुरातत्विक सम्पदाका रुपमा रहेको भजन खलःको पुनःनिर्माणमा सहयोग पु-याउने नेपाल सरकारलगायत सबैलाई धन्यवाद दिनुभयो ।
काठमाडौँ महानगरपालिकका प्रमुख विद्यासुन्दर शाक्यले स्थानीय कला, भाषा, संस्कृतिको संरक्षणमा महानगरपालिकाले सहयोग गर्दै आएको बताउनुभयो । सो अवसरमा राष्ट्रपति भण्डारीले भजन खलः पुनःनिर्माणमा सहयोग पु-याउने विभिन्न व्यक्तित्वलाई सम्मान पनि गर्नुभयो ।
विसं १९९४ मा निर्माण गरिएको उक्त खलःमा स्थापनाकालदेखि नै भजनकीर्तन हुँदै आएको छ । ज्ञानमाला भजनमार्फत भगवान गौतमबुद्धले दिएका उपदेशलाई नागरिकका माझबाट पु-याइँदै आइएको छ ।