काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका संस्थापन नेताहरुको सपना आफूले पूरा गर्न सक्ने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा भएको ‘बानेश्वरको सेरोफेरो पुस्तक’को लोकार्पण कार्यक्रममा उहाँले पार्टीका संस्थापक नेताहरुले जनता र देशका लागि देखेको सपना पूरा गर्न आफू सक्षम भएको बताउनुभयो ।
‘किसुनजी, गणेशमानजी, विपीजीको जनताको जीवनयापन सहज बनाउने सपना थियो । उहाँहरुले विकसित नेपालको सपना राख्नु भएको थियो । त्यो सपना तपाईहरुको सहयोगबाट पूरा गर्न सक्छु भन्ने विश्वास छ,’ उहाँले भन्नुभयो । जनताका प्रतिनिधि भएपछि जस्तोजुकै अवस्थामा पनि फिट हुन सक्ने क्षमता हुनुपर्ने उहाँको भनाइ थियो ।
साथै नेता सिंहले बानेश्वरको पहिलो अवस्था थाहा पाउनका लागि ‘बानेश्वरको सेरोफेरो पुस्तक’ पढ्नुपर्ने बताउनुभयो । बानेश्वर नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थान रहेको उहाँको भनाइ थियो ।