काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले १०औं महाधिवेशनलगत्तै आफ्नो पार्टी ‘एउटै लय, एउटै धुन र एउटै गतिमा’ दौडिने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘यो महाधिवेनशपछि एमाले एउटा भिन्नै गतिका साथ अघि बढ्नेछ । एउटै लय, एउटै धुन र एउटै गतिमा दौडिन्छ । एमाले अब हिँड्दैन, दौडिन्छ ।’
रिपोर्टर्स क्लबको साक्षात्कारमा शुक्रबार बोल्दै उहाँले पार्टीलाई पुनः सरकारमा कमब्याक गराउने गरी अघि बढिने पनि विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, ‘एमालेले ५० प्रतिशतभन्दा बढी स्थानीय तहमा जित्ने संकल्पका साथ हामी फर्किन्छौं । अर्को वर्ष मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एमालेले बहुमत ल्याउनेछ । यो महाधिवेशनसँगै एमाले सरकारमा कमब्याक हुनेछ । सरकारमा एमालेको कमब्याक हुन्छ, हुन्छ ।’
उहाँले आगामी महाधिवेशनमा सर्वसम्मत् रुपमा नेतृत्व चयन गरिने पनि विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, ‘यो पटक पार्टीमा सर्वसम्मत् रुपमा नेतृत्व चयन गर्ने हो । हामी त्यहीअनुसार अघि बढेका छौं । यदि सर्वसम्मत् भएन भने पार्टी नेतृत्वमा प्रतिष्पर्धा गर्ने छुट हरेक प्रतिनिधिलाई छ, पहिलो कुरा महाधिवेशनमा २२ सय प्रतिनिधिहरुमध्ये हरेक प्रतिनिधिलाई प्रतिस्पर्धा गर्ने छुट छ । तर, हाम्रो मिशन भनेको एमालेमा योपटक सर्वसम्मत् नेतृत्व चयन गर्ने हो ।’
उहाँले आगामी महाधिवेशनले पार्टीभित्र रहेका सबैखाले तिक्तता कम गर्ने दाबी गर्नुभयो । उहाँले अबको एकमात्रै लक्ष्य भनेको सूर्य चिन्हको बहुमत, अनि सरकार निर्माण र त्यसमार्फत समाजवादको बाटोमा जाने नै रहेको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले कसैलाई प्रधानमन्त्री बनाउनमात्रै बहुमत मागेको होइन । देशको समस्यालाई हटाउँदै समाजवादमा पु-याउने लक्ष्य हो । यो कसले गर्न सक्छ त भन्दा ? एमालेले मात्रै गर्न सक्छ । त्यसको संकल्प महाधिवेशनले गर्छ ।’