काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा सत्तामा फेरि फर्किने बताउनुभएको छ । उहाँले पाँचदलीय गठबन्धनको चुनौती चिर्दै अबको चुनावमा आफूहरुको पार्टीले बहुमत ल्याउने बताउनुभयो । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा भट्टराईले यस्तो धारणा राख्नुभएको हो ।
सचिव भट्टराईले भन्नुभयो, ‘विभिन्न षडयन्त्रबाट हामी सरकारबाट प्रतिपक्षमा छौँ । एमालेबाट बाहिरिएको सानो समूहले अलग्गै गतिविधि गरिरहेको छ तर यसका बावजुद अझै पनि एमालेलाई विशाल बनाउँछौँ । आगामी निर्वाचनमा बहुमत ल्याउने चुनौती हामीसँग छन् ।’ भट्टराईले पाँच दलीय गठबन्धनलाई चिरेर एमालेले बहुमत ल्याउने बताउनुभएको छ ।